शैलुङः पर्यवरण, पर्यटन र गरिबी न्यूनिकरण



माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ……
वरिष्ठ गायिका कुन्ती मोक्तानको यो गीतबाट पनि शैलुङको महिमा झल्किन्छ । ठूला–साना गरी सयवटा थुम्का वा डांडा रहेकाले यस क्षेत्रको नाम शैलुङ रहन गएको हो, भन्ने भनाइ छ । करिब २२००–३१६८ मिटरसम्म उचाईमा पर्ने शैलुङ क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल, पर्यटकीय एवं पर्यवरणीय दृष्टीकोणले अति नै मनोरम र प्राकृतिक सम्पदामा धनी जस्ता उपमाले चिनिन्छ । प्राकृतिक सुन्दरताको पर्यायको रुपमा समेत परिचित छ, शैलुङ । यस शैलुङ क्षेत्र अन्तरगत शेर्पा, तामाङ, मगर, नेवार, क्षेत्री, ब्राहमण, दलित आदि जातिको बाहुल्यता तथा बसोवास रहेको छ ।
प्राकृतिक सौन्र्दयको खानी सैलुङ
राजनैतिक नक्सामा उत्तरीय क्षेत्र दोलखा जिल्ला अन्तर्गत पर्दछ भने दक्षिणी क्षेत्र रामेछाप जिल्लाको डडुवा, गौस्वाँरा, दोरम्वा, टोकरपुर र लखनपुर गा.वि.स. अन्तर्गत पर्दछ । हिउँदको समयमा करीब ३ महिना (मंसीर, पुष र माघ) हिउले ढाक्ने गर्दछ । जलवायु परिवर्तनको असरसँगै यस क्षेत्रमा विगतको तुलनामा हिउँ पर्ने मात्रामा केहि कमी आएको छ तर केही वर्षका अन्तरालमा यो वर्ष अथवा हिजोआज भने प्रर्याप्त हिउँ परिरहेको छ । स्थानीय पर्यटनप्रेमी दावासङबु शेर्पाका अनुसार हिउँ खेल्न अथवा हिउँमा रमाउनको लागि धेरै आन्तरिक तथा बाह्य पर्यटकहरुको दिनहु भिड लाग्ने गरेको छ । काठमान्डौ उपत्यका र आसपासको क्ष्ोत्रबाट नजिकै रहेको शैलुङ क्षेत्रमा आई हिउँ परिरहेको बेलाको प्रत्यक्ष अनुभव लिन सकिन्छ । यसै क्षेत्रमा करिब २०० वटा जति चौरी तथा भेडा रहेका छन् भने प्रायः सबै क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भैसकेका छन् ।

रविन शैलुङ

कृषि पर्यटनको आधार
महत्वपूर्ण काष्ठजन्य तथा गैरकाष्ठजन्य वनपैदावारहरु जस्तै ठिगुरे सल्ला, धुपी, सुनपाती, गुराँस, चिमल, लोक्ता, चिराइतो, अर्गेली, मच्छिनो, पाखनवेद, लौठसल्ला, झ्याउ, मजिठो आदि वन पैदावारहरु यस क्षेत्रमा प्रसस्त मात्रामा पाइन्छ । आलु खेती यो क्षेत्रको अर्को महत्वपूर्ण कृषि उत्पादन हो । कालीमाटी लगायत काठमाडौंका अन्य बजारमा मुडेको आलु ब्राण्डले चिनिने आलु मध्ये धेरै प्रतिशत शैलुङ क्षेत्रको आलुले ओगेको पाइन्छ । यसका अलावा काउली, बन्दा, गाँजर, मुला, मटरकोसा, किवी लगायतका कृषि उत्पादन भई विभिन्न बजारमा उपलब्ध हुने गरेको छ । यि यस्ता वनपैदावार तथा कृषि उत्पादनहरुले कृषि पर्यटन तर्फको सम्भावनाहरुलाई संकेत गर्नुको साथै स्थानीय आर्थिक कारोवार तथा आर्थिक वृद्धिमा समेत उल्लेख्य योगदान पुगेको छ । यो क्षेत्र जैविक विविधताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भएकोले मध्य पहाडी क्षेत्रको वानस्पतिक वगैचाको रुपमा समेत परिचित छ ।

धार्मिक सांस्कृतिक सम्पदाले धनी सैलुङ

यसै श्रृखलाको रामेछाप जिल्ला अन्तरगत गौस्वारा, लखनपुर र टोकरपुर गाविसको सीमा क्षेत्रमा “सानो शैलुङ” पर्दछ, जुन धार्मिक रुपमा चर्चित छ । त्यसैगरी, डडुवा गाविस वडा नं. ९ राजभीर स्थित चर्चित शैलुङ टाँसी नाम्ग्याल छोलिङ गुम्वा रहेको छ भने कालिञ्चोक भगवती मन्दिर (खोलाखर्क नजिकै ) छ र यसलाई दोलखाको कालिन्चोक भगवतीको अर्को रुप रहेको भन्ने मान्यता बमोजिम धार्मिक विधि अनुसार पुजापाठ गर्ने गरेका छन् । शैलुङ क्षेत्रलाई आधार मानी केहि वर्ष अगाडी अन्तराष्टिय श्रम संगठनको सहयोग तथा रामेछाप उद्योग वाणिज्य संघ र जनभावना यूवा क्लवको सहजिकरणमा ७ दिने आदिवासी जनजाति पदमार्ग निर्माण गरी प्रयोगमा ल्याइएको छ । यो पदमार्गलाई नेपाल पर्यटन बोर्डले समेत मान्यता दिएको छ । नेपाल सरकारले खोलाखर्क देखि शैलुङ (बाघढंगा) सम्म टे«किङ मार्ग (सिढी तथा खुड्किलाहरु) र शैलुङ डाँडामा भ्यू टावर समेत निर्माण गरिरहेका छन् ।

सगरमाथा हिमश्रृंखलाको नियाल्दा
शैलुङ डाँडा आफैमा प्राकृतिक भ्यूटावर हो जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर हिमाल, पाथिभरा हिमश्रृंखला, सगरमाथा हिमश्रृंखलाको नजिकैबाट दृष्याअवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ महाभारत पर्वतीय श्रृंखला लगायत वरीपरी प्राकृतिक मनोरम दृष्यको समेत अवलोकन गर्न सन्छि । शैलुङ क्षेत्र केन्द्रित आदिवासी जनजाति पदमार्गको लागि काठमान्डौबाट यात्रा प्रारम्भ गरी विपी राजमार्ग अन्तरगत नेपालथोक लुभुघाट–खाँडादेवीथान–सुनापति–गाल्पा–अग्लेश्वर महादेवथान–दोरम्बा–डडुवा–शैलुङ टाँसी नाम्ग्याल छोलिङ गुम्वा–खोलाखर्क–शैलुङ्ग डाँडा (बाघढुंगा–३१८६ मि.) हुदै दोलखा तथा सिन्धुपाल्चोक जिल्लाको सिमाना क्षेत्र मुडेवजार भएर पुन ः काठमान्डौ पुगेर यात्राको अन्त्य गर्न सकिन्छ या त रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला अन्तरगत पर्ने अन्य मनोरम पर्यटकीय क्षेत्रको भ्रमण समेत गर्न सकिनेछ । लुभुघाट देखि शैलुङसम्म विभिन्न स्थानमा होम स्टे व्यवस्थापन गरिएको छ जहाँ खाना तथा बासको राम्रो व्यवश्था रहेको छ । हाल आन्तरिक तथा बाह्य पर्यटकहरुले यो पदमार्गको प्रयोग गरिरहेको छ । यस्ता कार्यहरुले स्थानीय आर्थिक विकासमा टेवा पुर्याउदछ ।

दिगो व्यवस्थापनको खोजी
शैलुङ क्षेत्र जस्ता उच्च पहाडी क्षेत्र राष्ट्रिय एवं अन्तराष्ट्रिय दृष्टिकोणले अतिनै महत्वपूर्ण हुने भएकाले त्यस क्षेत्रलाई त्यहाँको भौगोलिक अवस्था, वसोवासको अवस्था, वन सम्पदाका उपभोक्ता, यातायातको सुविधा र प्राकृतिक सम्पदा, आर्थिक रुपान्तरणका अवसर आदिलाई ध्यानमा राखि विभिन्न क्षेत्रको जस्तै–सामुदायिक वन, काठ उत्पादन व्यवस्थापन, जैविक विविधता संरक्षण, जलाधार क्षेत्र व्यवस्थापन, जडिवुटी व्यवस्थापन, कृषि उत्पादन तथा कृषि पर्यटन प्रवद्र्धन, धार्मिक तजा साँस्कृतिक पर्यटन प्रवद्र्धन, पर्यपर्यटकीय क्षेत्र व्यवस्थापन आदी क्षेत्रको पहिचान गरी यस्ता अथाह प्राकृतिक सौन्दर्य र सम्पत्तिले भरिपूर्ण शैलुङ क्षेत्रको उचित तथा दिगो व्यवस्थापन गर्नु नितान्त आवस्यक छ ।
सैलुङ विकासमा सरकारको भूमिका
शैलुङ क्षेत्रको पर्यटन तथा समग्र विकासका लागि साना तिना कार्य बाहेक संस्थागत, संरचनागत तथा नीतिगत रुपमा कुनै ठोस कार्य हुन सकेको देखिदैन । अझ यो क्षेत्रले दुइवटा जिल्लाको प्रतिनिधित्व गर्ने भएकोले पनि दुवै जिल्लाको तर्फबाट समेत उचित ध्यान पुग्न सकेको छैन । यस्तो अवश्थामा नेपाल सरकार तथा सम्बन्धित निकायले शैलुङ क्षेत्र पर्यटन प्रवद्र्धन तथा विकास समिति गठन गरी त्यस क्षेत्रको गुरुयोजना तयार गर्ने र सोहि गुरुयोजना अनुसार सरकारी तथा गैरसरकारी निकायहरुले विभिन्न आवस्यकीय कार्यक्रमहरु संचालन गर्नु पर्दछ । रामेछाप र दोलखा दुवै जिल्लाको को तर्फबाट स्थानीय समुदायको सहभागिता, निश्चित संस्थागत संरचना सहित स्पष्ट नीति नियम तथा कार्यविधी र कार्यक्रम सहित सरकारी तत्परता र उच्च स्तरीय राजनैतिक प्रतिवद्धता हुने हो भने अवको केहि वर्ष भित्रमा नै शैलुङ क्षेत्र एउटा राम्रो पर्यटकीय सम्भावना भएको क्षेत्रको रुपमा स्थापित हुनेछ र समग्र शैलुङ क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यवरणीय तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ । शैलुङ ः पर्यवरण, पर्यटन र गरिबी न्यूनिकरणको आधार बन्नेछ ।                                                                                                       [email protected]                                                    

प्रतिक्रिया दिनुहोस्