भुकम्प प्रतिरोधी गारोवाला घर निर्माण गर्न अपनाउनु पर्ने नौ विधि



भुकम्प गएको २२ महिनापछि रामेछाप जिल्लामा पनि भुकम्प पीडितहरुले घर निर्माण सुरु गरेका छन् । पहिलो किस्ता रकम प्राप्त गरेसँगै रामेछाप जिल्लाभर घर निर्माणको कामले गति लिएको छ । पहिलो किस्ता प्राप्त गरेको छ महिनाको अवधिमा जिल्लभर तीन हजार घर निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय पुनिर्माण प्राधिकरण रामेछापले बताएको छ भने बाँकी घर निर्माणको चरणमा छन् । भुकम्प पीडितले निर्माण गरेको घर भुकम्प प्रतिरोधी हुनुपर्ने नीति अनुसार सरकारले जिल्लाको दुई नगरपालिका र ४५ गाविसमा प्राविधिकहरु खटाएको छ । घर निर्माणको लागि तालिम प्राप्त दक्ष जनशक्तिको प्रयोग हुँदै आएको छ । जिल्लामा आवश्यक दक्ष कालिगढको अभावमा अपेक्षा अनुसार निजी घर निर्माणको कामले गति लिन सकेको भुकम्प पीडितहरुले गुनासो गरेका छन् ।


यसरी बनाउन सकिन्छ भुकम्प प्रतिरोधी गारोवाला भवन
नियमपुर्वक प्राविधिक परामर्श लिएर बनाएको खण्डमा गारोवाला भवनहरु पनि भुकम्प प्रतिरोधात्मक बनाउन सकिन्छ । यसका लागी केही महत्वपूर्ण सुझावहरु निम्नानुसार छ–
१.घर निर्माण सुरु गर्नु अघि प्राविधिक सल्लाह लिएर मात्र निर्माण कार्य सुरु गर्नुपर्छ । जसले गर्दा सुरक्षित निर्माण स्थल तथा निर्माण सामाग्रीको छनोट साथै पालना गर्नुपर्ने न्युनतम मापदण्डको बारेमा जानकारी पाउन सकिन्छ ।
२. घर बनाउदा सुरक्षित स्थान रोज्नुपर्छ । यदि सुरक्षित स्थान नभएमा यसको विकल्पमा अरु उपायहरु अपनाउन सकिन्छ । घर बनाउने स्थानहरु जस्तै 
– बढीपहिरो आउन सक्ने स्थान
– भिरालो जमिन
– पुरुवा माटो
आदि जमिनबाट सुरक्षित दुरीमा राख्नुपर्छ ।

३. घर तब मात्र बलियो हुन्छ जब जग बलियो हुन्छ । यसको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ः
– जगको गहिराइ कम्तीमा त्यसको चौडाइ जति हुनुपर्छ ।
– कडा माटो नभेटेसम्म खन्नुपर्छ ।
– वारपार ढूङ्गा गारोमा जति महत्वपुर्ण हुन्छ, त्यतिकै महत्वपुर्ण जगमा पनि हुन्छ ।

४. घर बनाउदा प्रयोग गर्ने सामाग्रीहरु गुणस्तरीय हुन जरुरी हुन्छ । निर्माण सामाग्रीहरु जस्तैः मसला, इट्टा, ढुङ्गा, काठ आदि छनोट गर्दा उक्त सामाग्रीको गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

५. गारोलाई एकैसाथ पट्टिले बाध्नुपर्छ । जसले गर्दा गारोलाइ खुम्चन वा तन्किनबाट रोक्छ । साथै समग्र संरचनालाई एक ढिक्का बनाउने काम गर्छ । यसरी पट्टिहरु राख्दा विभिन्न तहमा पट्टिले बाधेको हुनुपर्छ जस्तै ः
– गारोको तल्लो भागको पट्टि (कुर्र्ची सतहमा)
– सिल पट्टि (झ्यालको तल्लो भाग)
– कोपु (लिन्टेल) पट्टि (झ्याल ढोका माथिको भागमा)
– तल्ला पट्टि (तल्ला पुर्ने अथवा छाना छाउने तहमा)

६. ढुङ्गाको गारो लगाउदा सुर ढुङ्गा र वारपार ढुङ्गाले अनिवार्य बाध्नुपर्छ जसले घरको भित्तालाई एकैसाथ जोड्छ र भित्ता भत्किने छुट्टिने जोखिम न्युनिकरण गर्छ ।

७. घरको आकार र बनोट बलियो घर निर्माणको लागि अत्यन्तै महत्वपुर्ण हुन्छ । यसरी घरको अकार तथा बनोट छनोट गर्दा निम्न कुराहरुमा बिशेष ध्यान पु¥याउनु पर्छ 
– सरल आकारको घर निर्माण गरौ जुन धेरै साघुरो नहोस ।एल र यु  आदी आकारको घरहरु भुइँचालो आउदा सुरक्षित हुदैन ।
– झ्याल र ढोका राख्दा कुनाबाट कम्तीमा २ फिटको दुरी राख्नुपर्छ साथै खुला भाग सकेसम्म थोरै राख्नुपर्छ जसले गर्दा गारोको भार बोक्ने क्षमतामा कमी आउदैन ।
– माटो मसलामा ढुङ्गाको घर बनाउदा एक तल्ला सम्म सिमित राख्नुपर्छ । यदि सिमेन्ट मसला प्रयोग गरी ढुङ्गा÷इट्टाको गारो लगाउदा प्राविधिक सल्लाह लिएर मात्र बनाउन पर्छ ।
– लामो गारो(४.५ मिटर भन्दा लामो)को लागी भित्री पर्खाल लगाउनु पर्ने हुन्छ । घरको भित्री पर्खाल निर्माण गर्दा बाहिरी पर्खालमा जस्तै बलियो र त्यस्तै मोटो पर्खाल निर्माण गर्नुपर्छ साथै उक्त पर्खाललाई पनि बाध्नु पर्छ ।

८. चुलि गारोमा सकेसम्म हलुका सामाग्रीहरुको प्रयोग गर्नुपर्छ साथै ति सामाग्रीहरुलाई छतको संरचना सँग बलियो गरी बाध्नाले चुलि गारो र छत सुरक्षित हुन्छ ।

९. गारो छुट्टिएर छानो खस्नाले केहि घरहरु ढल्छन् त्यसैले छानो र गारोको जोडलाई बलियो गरी बाध्नुपर्छ । यसरी छानो छाउदा हलुका समाग्रीको प्रयोग गरी छानोलाइ चारैतिर गारोसंग कस्नुपर्छ ।

(लेखक अमर बहादुर थापा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख हुन भने पवन आचार्य जिल्ला आयोजना कार्यान्वयन इकाईका फोकल पर्सन हुन्)

प्रतिक्रिया दिनुहोस्