रामेछापको एकमात्र महिला वडा अध्यक्ष चिनीमाया तामाङको घोषणा–पिङखुरीलाई झिलिमिली बनाउछु
रामेछापको ८ स्थानीय तहमा ६४ वटा वडा रहेका छन् । रामेछापको ८ स्थानीय तहबाट ३ सय ३६ जना जनप्रतिनिधिहरु चुनिएका छन् । तर स्थानीय तहको निर्वाचनबाट एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित भइन खाँडादेवी गाउँपालिका–९ पिङखुरीकी चिनीमाया तामाङ । विजयी भएपछि अहिले उनको सर्वत्र चर्चाको छ ।
मनमा दृढ अठोट र विश्वास भए जस्तोसकै असम्भव काम पनि गर्न सकिन्छ भन्ने भनाई चिनीमाया तामाङले पेश गरेकी छिन् । जीवनमा निकै कष्ट हन्डर खादै श्रीमान चिना तामाङको राजनीतिमा साथ दिएकी तामाङले समाजलाई परिवर्तन सकिन्छ भने दह्रो विश्वास बोकेकी छिन् । वडा अध्यक्षमा विजयी भएपछि ठूलो जिम्मेवारी र दायित्व थपिएको महशुस गरेकी तामाङले बाँकी जीवन वडाको विकास र समृद्धिको लागि खर्च गर्ने योजना बुनेकी छिन् ।
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित चिनीमाया तामाङले ३ सय १४ मत प्राप्त गरेर विजयी भइन । निर्वाचित तामाङका पति चिना तामाङ रामेछापका पूर्व जिल्ला विकास समितिका सदस्य थिए । तामाङको पति चिना तामाङको एक बर्ष अघि निधन भएको थियो । रामेछापको ६४ वडा मध्ये कुनै पनि पार्टीले महिला वडा अध्यक्षको उम्मेदवार बनाएको थिएन । तामाङको सुसुरा मोतिलाल तामाङ पञ्चायतकालका चर्चित नेता थिए । राजनीतिलाई नजिकबाट बुझेपनि सक्रिय राजनीतिमा नरहेकी तामाङलाई जनताले मत दिएर विजयी गराए पनि जनताको गुण कसरी तिर्न सकिन्छ भन्ने चिन्ता थपिएको छ ।
उनले वडाको विकासको लागि गुरु योजना बनाएर नै काम गर्ने योजना सुनाइन । उमेरले ५८ बर्ष पुगेपनि चिनीमायाको जोस र जाँगर घटेको छैन् । निर्वाचनमा विजयी भएपछि अनुहारमा झन उर्जा भरिएको छ । श्रीमानको प्रेरणाबाटै राजनीतिमा लागेको बताउदै तामाङले जनताले विश्वास गरेर दिएको मत अनुसार जनताको चाहना र भावना विपरीत काम नगर्ने बताइन । निर्वाचनमा विजय भएपछि अबको योजना लगायतको विषयमा केन्द्रीत रहेर नेकपा एमालेबाट खाँडादेवी गाउँपालिका–९ पिङखुरीको वडा अध्यक्षमा निर्वाचित चिनीमाया तामाङसँग रामेछाप न्युजले गरेको कुराकानीः–
वडा अध्यक्षमा निर्वाचित भएपछि कस्तो लागेको छ ?
–अचम्म लागेको छ । बुढी मान्छेलाई जनताले निकै माया गरेर मत दिए । के होला ?भन्ने लागेको थियो । तर जिते । मेरो श्रीमानले गाउँको विकासको लागि निकै ठूलो मेहनत गर्नुभएको थियो ।
वडा अध्यक्षको उम्मेदवार बन्न कतिको दुःख गर्नु पर्यो ?
–लामो समय श्रीमानले पार्टीमा गरेको योगदान पार्टीले मुल्याङकन गरेको रहेछ । पार्टीले पनि चिना तामाङको योगदान रहेकोले मलाई टिकट दियो भने जित्छ भन्ने विश्वास गरेको रहेछ । टिकट लिनको लागि मैले धेरै दुःख गर्नु परेन । पार्टीले सम्मान नै गरेर टिकट दियो । गाउँमा एमालेप्रति बुढाबुढी खुसी छन् । किनकी बृद्धाभत्ता दिने व्यवस्था एमाले नै गरेको हो । समाजको सेवा गर्दागर्दै श्रीमानले ज्यान गुमाउनु भयो । मैले वडा अध्यक्षमा उम्मेदवार दिने भएपछि सबैले सहयोग गर्ने बचन दिनुभयो । सोही कारण मैले टिकट लिए ।
निर्वाचनमा जित्न कतिको संघर्ष गर्नुभयो ?
–यो त भनिसाध्यै छैन् । गाउँले सबैले सहयोग गरे । तर आफै देवर गोविन्द लामा र सरद तामाङले ठूलो असहयोग गरे । दुवै जना देवर कांग्रेस हुन् । आफ्नो घरपरिबाट नै ठूलो सहयोग थियो । तर गाउँलेले मलाई विश्वास गरेर मतदान गरे ।
निर्वाचनमा पार्टीले कसरी सहयोग गर्यो त ?
–पार्टीले टिकट दियो । जनताले सहयोग गरे । अहिलेसम्म पार्टीले सुक्को पनि आर्थिक सहयोग गरेको छैन् ।
चुनाव लडन कति खर्च गर्नुभयो ?
–१० लाख रुपैयाँ खर्च भयो ।
यत्रो पैसा कसरी जुटाउनुभयो त ?
–पाँच जना छोराछोरीले सहयोग गरे । भान्जा भान्जीले सहयोग गरे । अब गाउँका जनतासँग चुनावको बेलामा चन्दा उठाउने कुरा भएन ।
अब ऋण तिर्न कति बाँकी छ ?
–छोराछोरी भान्जा भान्जीले गरेको सहयोग बाहेक नै ६ लाख ऋण तिर्न बाँकी छ । चुनावमा लागेको ऋणको बारेमा पार्टीलाई भन्नु पर्ला । सबै पार्टीले पैसा दियो भन्ने सुने । निर्वाचन अघि पार्टीसँग माग्ने कुरा पनि भएन ।
पार्टीलाई के भन्न चाहनुहुन्छ त ?
–पार्टीले चुनावमा लागेको ऋण तिरिदिन्छ कि भन्ने आश छ । गाउँपालिकाले भनेको काम गर्ने हो ।
अब पिङखुरी वडाको विकास कसरी गर्ने योजना बनाउनुभएको छ ?
–सुरुमा त गुरुयोजना नै बनाउनु पर्छ भन्ने विषयमा छलफल गरिरहेको छु । कुनै पनि काम गर्नु अघि योजना भएन भने गाह्रो हुन्छ । वडामा अझै बिजुली बल्न सकेको छैन् । पहिलो काम भनेको वडालाई झिलिमिली पार्छु । टोलटोललमा सडक पुर्याउछु । महिलाहरुको लागि सिपमूलक कार्यक्रम सञ्चालन गर्छु । युवाहरुलाई गाउँघरमा नै फर्काउन आयआर्जनका कार्यक्रम सञ्चालन गर्छु । खानेपानीको समस्या पनि धेरै छ । सबै जनतालाई सहज रुपमा खानेपानी पुर्याउन पहल गर्छु ।
महिलाहरुको जीवनस्तर उकास्न के भूमिका खेल्नुहुन्छ ?
–अहिले पनि गाउँघरमा जाँड रक्सी खाने, जुवातास खेल्ने गर्नाले महिलामाथि हिसां हुने गरेको छ । महिला हिंसा रोक्नको लागि काम गर्छ । जाड रक्सी नियन्त्रण गर्न पहल गर्छु । गाउँमा प्रहरी चौकी, स्वास्थ्य चौकीको आवश्यकता छ । यसको लागि पनि पहल गर्छु ।
कति पढ्नु भएको छ ?
मैले पढेको छैन् । तर हस्ताक्षर गर्न आउछ । त्यति बेला नजिकै विद्यालय नै थिएन । पढनु पर्छ भन्ने चेतना पनि थिएन । अझ छोरीले त पढनु नै हुँदैन भन्ने मान्यता थियो । म सँग विद्यालय गएको अनुभव नभएपनि राजनीतिलाई नजिकबाट बुझेको छु । गाउँलेको दुःख र समस्या बुझेको छु । जसरी पनि गाउँलेको मुहार फेर्ने हो त्यो काममा मन बचन र कर्मबाट लाग्छु ।
गाउँलेको माग चाहीँ के छ ?
–जागिर चाहियो । रोजगारी चाहियो । सडक छिटो निर्माण गर्नु पर्यो । खानेपानीको योजना छिटो सञ्चालन गर्नु पर्यो । गाउँमा सुक्को पैसा नभएपनि जाड रक्सी खाएर बस्नेहरुलाई रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने सोचेको छु । गाउँमा पाखो वारी बढी छ । खोतीयोग्य जमिन कम छ । सबै शहर र विदेशतिर मात्र बढी बस्छन् । अब गाउँमै फर्काउने गरी काम गर्ने सोचेकी छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
–बाँकी जीवन अब गाउँको विकासमा लगाउछु । केही न केही गरेर देखाउनु सोच छ । जसले मलाई मतदान गरेर जिताए । सबैलाई धन्यवाद दिन चाहन्छु । निर्वाचनको बेला जहाँ भोट हालेपनि अब मैले जितेपछि सबै जनतालाई समान व्यवहार गर्छु । कुनै भेदभाव गर्दिन । सबैको सहयोग लिएर अगाडि बढ्छु ।