रामेछाप जिल्लाकै सर्वाधिक राशीको फुटवल प्रतियोगीता



९ असोज, काठमाडौं
रामेछाप जिल्लाकै सर्बाधिक ठूलो पुरस्कार राशिको फुटवल प्रतियोगीता भुजी लिग रनिङ शिल्डको सातौं संस्करण असोजको अन्तिम साताबाट हुने भएको छ । आयोजक लिखु–भुजी रामेछाप युवा क्लबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २० गतेबाट प्रतियोगीता सुरु हुने जानकारी गराएको हो ।

 

उमाकुण्ड गाउँपालिका–७सात स्थित क्लबको आफ्नै मैदानमा आयोजना हुने प्रतियोगितामा २५ भन्दा बढी टोलीको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ । ‘टोलीहरूले सहभागीताका लागि सम्पर्क गरीरहेका छन् । प्रतियोगीता अघि मात्रै सहभागीता पक्का हुने छ’, आयोजक क्लबका उपाध्यक्ष मनोज सुनुवारले भने, ‘यस पटक २५ भन्दा बढी टोलीको सहभागीता हुने अपेक्षा गरेका छौं ।’
लिग कप नकआउट प्रणालीमा सुरु हुने प्रतियोगीताको बिजेता टोलीले ५२ हजार प्राप्त गर्ने छ । यस्तै उप बिजेता टोलीले २६ हजार तथा तेस्रो हुने टोलीले १३ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगीताको सर्बाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र स्थानीय मध्ये उदीयमान खेलाडी समेत पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ ।

१५ लाख भन्दा बढी खर्च हुने अनुमान गरीएको प्रतियोगीताका लागि उमाकुण्ड गाउँपालिकाले केही आर्थिक सहयोग गरेको क्लबका सचिव सुदीप सुनुवारले जानकारी दिए । साता दिनसम्म चल्ने प्रतियोगीताको उद्घाटन उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्