रामेछापमा एकै ठाउँमा आएर टुंगियो बाम गठबन्धन र कांग्रेसको चुनावी सभा



७ मंसिर, रामेछाप ।
मंसिर ११ गतेबाट रामेछापमा सुरु भएको राजनीतिक दलहरुको चुनावी प्रचार प्रसार अभियान सकिएको छ । निर्वाचनको मौन अवधिन सुरु हुने भएकाले मंसिर ८ र ९ गते राजनीतिक दलहरुले सभा गर्न पाउदैनन् । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसले निर्वाचन जित्ने दावी गर्दै आएका छन् । स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस भन्दा बाम गठबन्धन २९ हजार मतले अगाडि रहेको छ । कुल १ लाख ५२ हजार मतदाता रहको रामेछापमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निवार्चन क्षेत्र रहेको छ ।

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहिबार पनि रामेछापका राजनैतिक दलहरुले विभन्न स्थानमा चुनावी कार्यक्रम गरेका छन् । दलहरुले पार्टीको प्रचार प्रसारको निर्धारित सबै कार्यक्रम सकेर बिहिबार विभिन्न ठाउँमा भटेघाट र चुनावी सभा गरेका छन् । बाम गठबन्धनले बिहिबार जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ खिम्ती बजारमा चुनावी सभा सम्पन्न गरेको छ ।


कार्यक्रममा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठ रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर विजयी हुने बताए । रामेछाप निर्वाचन क्षेत्र नम्बर क का उम्मेदवार नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले अबको केही समयमा दुईतिहाई मत ल्याएर बाम गठबन्धने स्थाई सरकार बनाउने बताए ।

बाम गठबन्धनले नागरिकहरुलाई कसैको डर धम्की र पैसाको पछि लागेर मन नपरेका उम्मेदवारलाई भोट नहाल्न पनि आग्रह गरेका छन् । कार्यक्रममा बाम गठबन्धनका निर्वाचन परिचालन कमिटिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य देवशंकर पौडेल, निर्वाचन परिचालन कमिटिका जिल्ला सचिव एवं नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले रामेछापमा बाम गठबन्धनको जित कसैले पनि रोक्न नसक्ने बताए ।

फरक–फरक स्थानबाट चुनाव प्रचार प्रसार गरेका बाम गठबन्धन र कांग्रेसले अन्तिम भने एउटै गाउँपालिकामा आएर गरेका छन् । नेपाली काँग्रेसले पनि लिखु गाउँपालिका वडा नम्बर ६ खिम्तीको वडा कार्यालयमा कार्यक्रम गरेर चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छाराम, निर्वाचन क्षेत्र नम्बर क का उम्मेदवार रत्न कार्की,नेपाली काग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेख बहादुर कार्की लगायतका नेताहरुले रामेछापमा कांग्रेसले जित्ने बताएका थिए ।


चुनावी सभा सम्पन्न गरेर सबै नेताहरु आ–आफ्नो क्षेत्रमा लागेका छन् । मंसिर ८ र ९ गते मौन अवधि भएकाले दुवै पक्ष आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन् । निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा बनाएको छ भने निर्वाचनमा परिचालन हुने निर्वाचन अधिकृत, सहायक मतदान अधिकृत गरी करिब १५ सय कर्मचारी परिचालन भइसेको छ ।

प्रतिक्रिया दिनुहोस्