‘बलात्कार गर्नेलाई अब सर्वश्वसहित जन्म कैद’
भक्तपुर १९, साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने बताउनुभएको हो ।
नेकपाको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा मन्त्री थापाले महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताउनुभयो ।
मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गर्नुभयो ।
वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ती मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।