‘योजना सहित खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउन लागेका छौ’
स्थानीय तहका जनप्रतिनिधिहरुले विकास निर्माण मार्फत समृद्ध पालिका बनाउने घोषणा गर्दै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको पनि डेढ बर्ष वितिसकेको छ । रामेछापको खाँडादेवी गाउँपालिले पनि गाउँपालिकालाई समृद्धि बनाउने नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । डेढ बर्षको अवधिमा गाउँपालिकाभित्र भएको विकास निर्माणको काम र आगामी दिनमा गाउँपालिकालाई समृद्ध बनाउने योजना लगायतको विषयमा केन्द्रीत भएर खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङसँग रामेछाप न्युजको लागि स्नेहा सिलवाले गरेको कुराकानीः–
स्थानीय तहमा आवश्यक कर्मचारी छन कि छैनन ?
–गाउँपालिकामा २६ जना कर्मचारी हुनु पर्ने हो । नौ वटा वडामा नौ जना सचिव हुनुपर्ने हो । तर अहिले तीन जना मात्र वडा सचिव छन् । गाउँपालिकामा अधिकार त आयो । तर आवश्यक कर्मचारी भने आएका छैनन् । हामीले सुरुदेखि नै कर्मचारीको माग गर्दै आएका छौ । अहिलेसम्म आवश्यक कर्मचारी पाइएको छैन् ।
गाउँपालिकामा मापदण्ड विपरीत सडक निर्माण हुँदा जोखिम पनि बढ्यो भन्छन नि ?
–जनताको माग अनुसार सडक निर्माण गरेका छौं । गत बर्ष हामीले सडकलाई नै प्राथमिकता दिएर बजेट विनियोजन गर्यौ । तर बजेट अनुसारको सडक दिगो हुन सकेन । अब सडक मात्र निर्माण गर्ने भन्दा पनि दिगो बनाउनेतर्फ हामीले ध्यान दिएका छौं । गाउँपालिकाको मुख्य सडकको डिपिआर बनाएर मात्र सडक निर्माण गर्ने योजना अगाडि सारेको छ । हामीले गाउँपालिकाभित्रको मुख्य सडकलाई व्यवस्थित बनाउनको लागि स्पष्ट योजना बनाएका छौं । तत्काल कालोपत्रे गर्ने, ढल हाल्ने त गाउँपालिकास्तरबाट सम्भव छैन् । पालिकाभित्र निर्माण गरिएका सडकहरु बर्षाको समयमा ध्वस्त हुने गरेका छन् । अहिले गाउँपालिकाको ९ वटै वडामा यातायात सञ्चालन हुने अवस्था छ । हामीले सडकको स्तरउन्नती गर्नेतर्फ नै ध्यान केन्द्रीत गरेका छौं ।
गाउँपालिकाभित्र खानेपानीको निकै ठूलो समस्या छ । समाधानको लागि के गरिरहनुभएको छ ?
–खाँडादेवी गाउँपालिका अधिकाशं क्षेत्र सुख्खा क्षेत्रमा पर्छ । खानेपानीका प्राकृतिक मुहान निकै कम छ । लिफ्ट खानेपानी नै एक मात्र विकल्प हो । हामीले तत्काल घर घरमा पानी पुर्याउन नसकेपनि अत्यावश्यक पिउने पानीको व्यवस्थापन गर्ने कार्यक्रम अगाडि बढाएका छौं । हामीले सबैको घरमा खानेपानी पुर्याउनको लागि डिपिआरको काम गर्दैछौ । त्यसैगरी हालको बजेटमा खानेपानी टयाङ्कर खरिद गर्ने निर्णय गरेका छौँ । जनताकाे माग अनुसार टयाङ्करले जनताकाे घरमा पानी पुरयाउछ । वस्तुहरुको लागि बर्षाको पानी संकलन गर्ने अभियान सञ्चालन गरेका छौं ।
कृषि क्षेत्रको विकासको लागि के–के काम गरिरहनुभएको छ ?
–कृषिको लागि यो बर्ष पकेट क्षेत्र छुटयाएर नै काम गर्ने योजना अगाडि सारेका छौं । जुन पकेट हो त्यो क्षेत्रमा मात्र अनुदान दिने गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाको माथिल्लो क्षेत्रमा चिया खेती हुन्छ । गाउँपालिकाको खाँडादेवी, माकादुमको माथिल्लो क्षेत्रलाई चिया पकेट क्षेत्र भनेर राखेका छौं । त्यसैगरी तल्लो क्षेत्रमा अनार, केरा, कफी लगायतका फलफुल लगाउन सकिने गरी सिफारिस गरेका छौं । नदी तथा खोला किनारका कृषि योग्य क्षेत्रमा तरकारी उत्पादन गर्ने योजना छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना पनि छ । पकरवासको माडीफाँट, गागलटार र माकादुमको गोगनीलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास खर्च खोजेका छौं ।
कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मुल्य नपाउने गरेको गुनासो छ नि ?
–अहिले जति उत्पादन हुन्छ त्यसको व्यवस्थापन गाउँपालिकाले नै गर्छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मुल्य नपाउने गरेको गुनासो सत्य हो । बीचमा बिचौलीयाहरुको चलखेलको कारण उचित मुल्य पाउन सकेका छैनन् ।
गाउँपालिकाभित्र रोजगारी सृजना गर्ने विषयमा के योजना छ ?
–रोजगारी सिर्जना गर्ने विषयमा हामीले विदेशबाट स्वदेश फर्किएका र विदेश जान लागेका युवाहरुलाई लक्षित गरेर कार्यक्रम राखेका छौँ । गाउँघरमा नै उद्यम गर्न चाहने युवाहरुलाई अनुदान पनि दिन्छौ । युवाहरुले योजना बनाएर आएको अवस्थामा पालिकाले सहुलित ऋणमा अनुदान उपलब्ध गराउछ । बार्षिक आम्दानी भएपछि उसले २० प्रतिशत हामीलाई बुझाँउछ । हामीले वैदेशिक रोजगारमा जान खोजेका र फर्केका युवाहरुको तथ्याङ्क संकलन गरेका छौँ । पालिकाले अब विदेश जानै नदिने र युवाहरुको युवा संसद तयार गरेका छौँ र युवा लक्षित कार्यक्रम पनि बनाउदैँ छौँ । विदेश जाने युवाहरुलाई रोकेर गाउँघरमा नै रोजगारी सृजना गर्न नसके हाम्रो पालिकाको विकास सम्भव छैन् ।
गरिब परिचयपत्र वितरणमा धनी बढी परे भन्छन नि खास कुरा के हो ?
–यो धेरै चर्चाको विषय बनेको छ । परिचयपत्र वास्तविक गरिबलाई होइन धनीलाई दिइएको छ । यो विषयमा विरोध गरेका छौँ । पाँच बर्ष अघि वितरण गर्नुपर्ने परिचय पत्र अहिले वितरण गर्दा व्यवहारिक बनेका छैन् । तीन बर्षमा गरिब मान्छे नि धनी भैसकेको हुन्छ । मैले धनीले गरिब परिचयपत्र पाउने भएपछि गाउँपालिकाको केन्द्रमा सबै परिचयतपत्र लिनेहरुको सूचीसहितको विवरण वडापत्रमा राख्ने भनेको छु । धेरै धनी मान्छेको परेको हुँदा गरिबको होइन धनीको परिच पत्र भन्ने गरेको छु । तर सरकारले गरेको निर्णय हामीले कार्यान्वयन गर्नुपर्छ ।
स्वास्थ्य र शिक्षाको सुधारका लागि पालिकाले कस्तो कदम चालेको छ ?
–स्वास्थ्यको विषयमा ९ वटा वडामा ८ वटा स्वास्थ्य चौकी छ । त्यसलाई व्यवस्थित गर्नको लागि सामुदायिक स्वास्थ्य केन्द्रहरु २÷३ वट थपेर सुधार गर्ने क्रम जारी छ । सरकारले स्थानीय तहको केन्द्रमा १५ सैयाको अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । हामी अस्पताल निर्माण गर्ने ठाउँको व्यवस्थापन गर्न जुटेका छौं । अहिलेसम्म १० रोपनी जग्गा प्राप्त भएको छ । तत्काल अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएर गाउँघरमा नै स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गछौं ।
शिक्षाको हकमा एउटा प्राविधिक शिक्षालाई सरकारबाट बजेट आएको छ । खाँडादेवीमा सिभिल सिटिभिटी प्राविधिक शिक्षाको अनुमति प्राप्त भएको छ । त्यसलाई हामीले यस बर्षदेखि प्रयोगमा ल्याएका छौँ । अङ्ग्रेजी माध्यमबाटै पठनपाठन गर्ने भनेर हामीले गाउँसभाबाटै पारित गरिसकेका छौं । गाउँपालिकाभित्र १२ वटा मावि, ५८ वटा निमावि र प्राथमिक विद्यालयहरु छन् । हामीले शिक्षा क्षेत्रको गुणस्तर सुर्धानको लागि काम गरिरहेका छौं ।