टिकट लिन आएका यात्रुले टिकट पाएनन, के गर्दैछ सरकार ?
काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिनुभयो ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोहीअनुसार आजदेखि खुल्नुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।