स्वर्गको टुक्राः सैलुङ आहा ! (फोटोफिचर)
नारायण श्रेष्ठ
ठूला–साना गरी सयवटा थुम्का वा डाँडा रहेकाले यस क्षेत्रको नाम शैलुङ रहन गएको हो । करिब २२००–३१६८ मिटरसम्म उचाईमा पर्ने शैलुङ क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल, पर्यटकीय दृष्टीकोणले अति नै मनोरम र प्राकृतिक सम्पदामा धनी मानिन्छ ।
सैलुङ प्राकृतिक सुन्दरताको पर्यायको रुपमा समेत परिचित छ । यस क्षेत्रमा शेर्पा, तामाङ, मगर, नेवार, क्षेत्री, ब्राहमण, दलित आदि जातिको बाहुल्यता तथा बसोवास रहेको छ ।
राजनैतिक नक्सामा उत्तरीय क्षेत्र दोलखा जिल्ला अन्तर्गत पर्दछ भने दक्षिणी क्षेत्र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको डडुवा, गौश्वारा, दोरम्बा, टोकरपुर र लखनपुर वडा पर्दछ । हिउँदको समयमा करीब ३ महिना (मंसीर, पुष र माघ) हिउले ढाक्ने गर्दछ । काठमाडौ उपत्यका र आसपासको क्षेत्रबाट नजिकै रहेको शैलुङ क्षेत्रमामा हिउदको समयमा हिउको मज्जा लिन सकिन्छ । सैलुङ क्षेत्रमा करिब २०० वटा जति चौरी तथा भेडा रहेका छन् ।
शैलुङ डाँडा आफैमा प्राकृतिक भ्यूटावर हो जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर हिमाल, पाथिभरा हिमश्रृंखला, सगरमाथा हिमश्रृंखलाको नजिकैबाट दृष्याअवलोकन गर्न सकिन्छ । हाल सैलुङमा पर्यटनलाई दृष्यावलोकन गर्नको लागि सरकारले भ्युटावर पनि निर्माण गरेको छ ।
बिपी राजमार्गको नेपालथोक लुभुघाट–खाँडादेवीथान–सुनापति–गाल्पा–अग्लेश्वर महादेवथान–दोरम्बा–डडुवा–शैलुङ टाँसी नाम्ग्याल छोलिङ गुम्वा–खोलाखर्क–शैलुङ्ग डाँडा (बाघढुंगा–३१८६ मि.) हुदै दोलखा तथा सिन्धुपाल्चोकबाट सैलुङ पुग्न सकिन्छ ।
शैलुङ क्षेत्र जस्ता उच्च पहाडी क्षेत्र राष्ट्रिय एवं अन्तराष्ट्रिय दृष्टिकोणले अतिनै महत्वपूर्ण हुने भएकाले त्यस क्षेत्रलाई त्यहाँको भौगोलिक अवस्था, वसोवासको अवस्था, वन सम्पदाका उपभोक्ता, यातायातको सुविधा र प्राकृतिक सम्पदा, आर्थिक रुपान्तरणका अवसर आदिलाई ध्यानमा राखेर अगाडि बढनु पर्छ । शैलुङ क्षेत्र एउटा राम्रो पर्यटकीय सम्भावना भएको क्षेत्रको रुपमा स्थापित भइसकेको छ । यसको उचित प्रचार प्रसार गर्न आवश्यक छ ।