रामेछाप र दोलखाको मुहार फेदै खिम्तीको तीन जलविद्युत आयोजना
८ मंसिर, रामेछाप ।
रामेछाप र दोलखा जिल्लावासीको आर्थिक जीवनस्तर उकास्ने गरी खिम्ती खोलामा तीन जलविद्युत आयोजना निर्माण भइरहेका छन् । रामेछाप र दोलखाको सीमाना हुँदै बहने खिम्ती खोला पछिल्लो समयमा उर्जा नदीको रुपमा परिणत हुँदै गएको छ ।
हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । त्यसैगरी खिम्ती खोलामा नै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
१९ मेगावाटको दुई जलविद्युत आयोजना हिमालयन ऊर्जा विकास कम्पनीले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । सुरुमा आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण प्रक्रिया जारी रहेको र प्रसारण लाइनसमेत निर्माणको क्रममा रहेकाले असार पुग्न सक्ने बताइएको छ ।
हिमालय उर्जा विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले निर्माणाधिन दुई आयोजनाको भौतिक निर्माण ८० प्रतिशतभन्दा माथि सम्पन्न भएको रामेछाप न्युजलाई बताउनुभयो । दुई आयोजनाको विद्युत् २०७६ असारबाट केन्द्रीय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
बाँध क्षेत्रको संरचना निर्माणको काम अन्तिम चरणमा छ । बाँधबाट विद्युत गृहसम्म ल्याइने तीन हजार ८०० मिटर लामो पाइप बिच्छ्याउने काम समेत ८५ प्रतिशत सम्पन्न भएको छ । पाइप बिच्छ्याउन ५०० मिटर मात्रै बाँकी छ । आयोजनाको विद्युत्गृहको काम पनि अघि बढेको छ । त्यसमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउन शुरु गरेको छ । एकसाथ निर्माण भइरहेका दुई आयोजना सम्पन्न हुँदा तीन अर्ब १५ करोड खर्च हुने दुलाल जानकारी दिनुभयो ।
ती आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युुत् नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सवस्टेसनमा लगेर जोडिनेछ । उक्त सवस्टेशनको कामसमेत अगाडि बढाइएको छ । चिनियाँ कम्पनी पिङ्गाओ एण्ड जेभीले सो सवस्टशेन र प्रसारणलाइनको काम गरिरहेको छ ।
पिपल्स इनर्जी लिमिटेडले रु नौ अर्ब लगानीमा दोलखा र रामेछापको सिमानामा खिम्ती दोस्रो ४८.८ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेको छ । सो आयोजानको पहुँचमार्ग निर्माण तथा आवासगृहको काम शुरु भएको छ ।
सरकारले करिब ६०० मेगावाट क्षमताको खिम्ती ठोस्ने जलाशयुक्त आयोजना समेत अगाडि बढाउन लागेको छ । जलाशयुक्त आयोजना निर्माणको लागि विद्युत् विकास विभागल आयोजना अध्ययन गरिरहेको छ ।
३ नम्बर प्रदेश सरकारले उक्त आयोजनालाई प्राथमिकतामा राखेको छ । रामेछापका प्रदेशसभा सांसद शान्ति पौडेलले जलाशयुक्त आयोजना निर्माण गर्नको लागि आफूहरुले छलफल प्रक्रिया अगाडि बढाएको बताउनुभयो । रामेछापको मुहार फेर्नको लागि पनि यो आयोजना निर्माण गर्नुको विकल्प छैन, उहाँले भन्नुभयो ।