रामेछापमा महिला हिंसा विरुद्ध गाउँगाउँमा अभियान



रामचन्द्र वि.क.
१७ मंसिर, रामेछाप । महिला हिंसाको घटना न्युनिकरण गर्नको लागि रामेछापको गाउँगाउँमा अभियान सुरु भएको छ । रामेछापको आठ वटै स्थानीय तहमा महिला हिंसा रोक्नको लागि अभियान चलाइएको हो ।
महिला हिसां विरुद्धको १६ दिने अभियान विगतमाा सदरमुकाम मन्थलीमा मात्र केन्द्रित भएपनि यस बर्ष भने स्थानीय तहमा केन्द्रीत भएको छ ।


जनचेतनामूलक कार्यक्रमहरु सदरमुकाम केन्द्रित हुने गरेको र त्यसको प्रभावकारिता गाउँगाउँमा नदेखिएको भन्दै अभियान्तहरुले गाउँगाउँमा कार्यक्रम गाउँमा गर्न सुझाब दिए पछि मन्थली नगरपालिकाले वडाका सबै वडामा कार्यक्रम गर्ने गरी निर्णय गर्दै अभियान सञ्चालन गर्दै आएको छ ।

मन्थली नगरपालिका–९ पुरानागाउँमा सोमबार जनप्रतिनिधि सहितको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी भएका महिलाहरुले बढीजसो महिलाहरु पुरुषहरुबाटै हिंसा पर्ने गरेको बताएका छन् । पीडकहरुलाई स्थानीय सरकारले कारबाहीको दायरमा ल्याउन सके हिंसा घटनाहरु न्यूनिकरण हुने बुझाई महिलाहरुको छ ।


कार्यक्रममा अधिवक्ता पाण्डप प्रसाईले लैंगिक हिंसा के हो? हिंसा हुने स्थानहरु कहाँ–कहाँ हुन ? हिंसा हुने कारणहरु, त्यसको न्यूनिकरण र पीडकलाई कानूनी कारबाहीको बारेमा जानकारी गरएका थिए ।  कार्यक्रमको अध्यक्ष समेत रहेका वडा नं. ९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामीले कुनै पनि किसिमले हिंसा सहेर बस्न नहुने र वडाभित्र कसैले लैंगिकताकै आधरमा विभेद गरे तत्काल वडा कार्यालयमा उजुरी दिन पनि आग्रह गरे ।

उनले घरभित्र हुने गरेका घरेलु हिंसाका घटनाले समाजमा सामाजिक विचलन ल्याउने भएकाले कसैले सहेर बस्न नहुनेप्रति सचेत पनि गराए । कार्यक्रममा स्थानीय महिला, महिला स्वास्थ्य स्वंयमसेवीका, राजनीतिक दलाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
महिला हिसां विरुद्धको १६ दिने अभियान मन्थलीको सबै वडा र रामेछापका विभिन्न ठाउँहरुमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्