प्राधिकरणले सबै स्थानीय तहसँग पुनर्निर्माण सम्बन्धी समझदारी गर्ने



काठमाडौं, मंसीर १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरेको हो ।

भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् । यसअघि, प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटा-छुट्टै समझदारी गरेको थियो ।

बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरुसँग समझदारी गर्नका लागि प्राधिकरणले मंसीर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरुमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।

समझदारीका लागि तयार पारिएको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका /गाउँपालिकाको हुने उल्लेख छ ।

यस्तै नगरपालिका/गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरु जस्तो गुम्बा, एकीकृत बस्ती,  स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका/गाउँपालिकामा निकाशा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने, नगरपालिका/गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख हुनेछ ।

समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्याहरु आइपरेमा प्राधिकरण तथा नगरपालिका/गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइने लगायतका ११ बुँदा छन् ।

प्रतिक्रिया दिनुहोस्