रामेछाप जिल्लामै पहिलो पटक मृगौलाको डाइलासिस सेवा सुरु
रामचन्द्र वि.क.
११ पुस,रामेछाप । पाँच वर्ष देखि काठमाडौमा गएर मृगौलाको डाइलसिस सेवा लिइरहेका रामेछापको खाँडादेबी–६ माकादुमका ममिन्द्र तामाङ जिल्लामै डाइलासि सेवा पाएपछि निकै खुसी भए । २५ वर्षको उमेरमै दुबै मृगौला फेल भएका तामाङले जिल्लामै उपचार पाएपछि खुसी हुँदै भने, ‘निशुल्क भए पनि काठमाडौ जाँदा ६/७ हजार खर्च हुन्थ्यो, अब त घर नजिकै डाइलासिस सेवा लिन पाइयो अब खर्च कम हुन्छ ।’
उनले काठमाडौ जाँदा कुनैबेला गाडी नभेटिने कुनै बेला पैसा नहुने जस्ता समस्याले गर्दा परिवारमा समेत तनाब हुने गरेको पीडा सुनाउदै अब ती समस्याबाट मुक्ति पाएको सुनाए ।
उनलाई यो खुसी दिने मन्थलीको तामाकोसी सहकारी अस्पताल हो । जिल्लामै पहिलो पटक मिर्गौलाको निशुल्क डायलासिस सेवा बुधबारदेखि सुरु भएको छ ।
चुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराइदिएपछि अस्पतालले भौतिक संरचनाको काम गरेर यो सेवा दिन सफल भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले बताए ।
केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा मृगौला बचाउ अभियानका अध्यक्ष मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको विषेश पहलमा अस्पतालले मन्थलीमा मिर्गौला उपचार केन्द्र स्थापना गर्न सफल भएको घिमिरेले बताए ।
हिमाली जिल्ला रामेछापमा सुरु गरिएको डायलासिस सेवाबाट छिमेकी जिल्ला ओखलढुंगा, दोलखा, सिन्धुली, सोलुखुम्बु, लगायतका विरामीहरुले सहज रुपमा सेवा लिन सक्ने छन् ।
करिब तीन करोडको लागतमा तयार भएको उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलासिस सेवा पाउनेछन् ।