१ करोड ७६ लाखमा दोरम्बा गाउँपालिकाको नयाँ भवन बन्दै
१७ पुस, रामेछाप ।
दोरम्बा गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ । स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाले स्थायी रुपमा भवन निर्माण गर्न लागेको हो । गाउँपालिकाको केन्द्र टोकरपुरको थामचौरमा १ करोड ७६ लाख लगानीमा भवन निर्माण गर्न लागेको छ । ।
गाउँपालिकाले भवन निर्माणको लागि २ करोड १० लाख रुपैयाँ विनियोजन गरेपनि ठेक्का आह्वानको क्रममा घटाघटमा १ करोड ७६ लाखमा सम्झौता गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार आगामी ६ महिनाभित्र गाउँपालिकाको भवन निर्माण गर्ने सम्झौता भएको छ ।
गाउँपालिकालको प्रिफ्याक भवन निर्माण भएपछि एकै स्थानबाट नागरिकहरुले सेवा पाउने भएका छन् । अध्यक्ष मोक्तानले भन्नुभयो,‘निर्माण कम्पनीले तीन महिनाभित्र नै भवन निर्माण गरेर हस्तान्तरण गरे पुरस्कार पनि दिने घोषणा गरेका छौ ।’ हाल गाउँपालिकाको कार्यालय कण्ठेश्वर माविको पुरानो विद्यालय भवनबाट सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण हुने भवनमा २२ वटा कोठा रहनेछन । त्यसैगरी गाउँपालिकाको परिसरभित्र नै अध्यक्ष, उपाध्यक्ष र कर्मचारीको लागि आवासिय भवन समेत निर्माण हुनेछ ।
गाउँपालिकाको भवन लगायतको कार्यालयको भौतिक संरचना निर्माण गर्नको लागि स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए । थामचौरका स्थानीयले गाउँपालिकालाई तीस रोपनी जग्गा प्रदान गरिसकेका छन् । गाउँपालिकाले चौकी निर्माण गर्नको लागि उक्त जग्गाबाट एक रोपनी चार आना जग्गा प्रहरी चौकीलाई प्रदान गरेको छ ।
हाल निर्माण हुन लागेको भवन भने १२ रोपनीमा निर्माण गर्न लागिएको हो । स्थानीयले गाउँपालिकालाई निशुल्क रुपमा जग्गा प्रदान गरेपछि जग्गा खरिद गर्ने बजेटले गाउँपालिकाको भवन निर्माण गर्न ठूलो सहयोग पुगेको छ ।