कालिका माविलाई हर क्षेत्रमा नमूना बनाएर देखाउनु छः वडा अध्यक्ष गजुरेल



२५ पुस, रामेछाप । दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले कालिका माविलाई नमूना माविको रुपमा विकास गर्ने कार्यमा लागेको बताउनुभएको छ । उहाँले नमूना मावि निर्माण गर्नको लागि भौतिक संरचना निर्माण भइरहेको बताउदै शिक्षाको गुणस्तरमा पनि नमूना बनाउने अभियानमा जुटेको बताउनुभएको हो ।


सोम प्रसाद ढुंगेल अक्षय कोषद्धारा विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष गजुरेलले विद्यालय स्थापना गर्ने कार्यमा नेतृत्वदायि भूमिका खेल्नु भएका सोमप्रसाद ढुंगेलको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नमूना विद्यालयको लागि भौतिक संरचना चाहिन्छ, त्यो निर्माण भएको छ, अब गुणस्तरीय शिक्षामा सबैले ध्यान दिनुपर्छ ।’ वडा अध्यक्ष गजुरेले नमूना विद्यालय थप राम्रो बनाउनको लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।


विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्रोत साधन उपलब्ध गराउनको लागि वडा कार्यालयले भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पठनपाठनसँगै विद्यार्थीमा अनुशासन, आचरण पनि राम्रो हुनुपर्नेमा जोड दिदै उहाँले युग सुहाउदो शिक्षा प्रणालीलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।

सोम प्रसाद ढुंगेल स्मृति अक्षय कोषद्धारा ३५ विद्यार्थीलाई पुरस्कार
कालिका माविका संस्थापक सोमप्रसाद ढुंगेलको दसौ स्मृति दिवसको अवसरमा उहाँको परिवारले स्थापना गरेको सोमप्रसाद ढुंगेल स्मृति अक्षय कोषद्धारा विद्यालयका ३५ विद्यार्थी पुरस्कृत भएका छन् ।

२०१७ सालमा विद्यालय स्थापना गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्नुभएका ढुंगेलले गाउँगाउँमा शिक्षाको ज्योती फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सोम प्रसाद ढुंगेल अक्षय कोषका अध्यक्ष कोमल ढुंगेलले कोषमा रहेको २ लाख १० हजारबाट बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यालयका जेहनदार, विपन्न कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद चौलागाईले अक्षय कोष मार्फत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु सकारत्मक काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्