रामेछापकाे ७ स्थानीय तह दमकल विहीन, आगलागी भए के गर्ने ?



राजन महतारा क्षेत्री
९ माघ, रामेछाप । रामेछापको सात वटा स्थानीय तह दमकल विहीन हुँदा स्थानीयमा चिन्ता थपिएको छ । अत्यावश्कीय साधनको रुपमा रहेको दमकल खरिदमा स्थानीय तहले अझै चासो देखाएका छैनन् । रामेछापको आठ वटा स्थानीय तह मध्ये मन्थली नगरपालिकामा मात्र दमकल रहेको छ । भौगोलिक अवस्थाको कारण सबै स्थानीय तहमा दमकल आवश्यक भएपनि स्थानीय तहका जनप्रतिनिधिहरुको ध्यान जान सकेको छैन् ।

सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरिकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष केदार कार्कीले रामेछाप नगरपालिकामा दमकल नहुँदा निकै समस्या हुने गरेको बताउछन । केही महिना अघि रामेछाप बजारमा राखिएको खानेपानी पाइपमा आगोलागी हुँदा लाखौँको क्षति भएको बताउँदै वडाअध्यक्ष कार्कीले घटना घट्ने वित्तिकै मन्थली नगरपालिकाको दमकललाई फोन गरेको भएपनि २ घण्टापछि मात्र दमकल आईपुगेको गुनासो गरे ।

समयमा नै आगो नियन्त्रण गर्न दमकल नहुँदा लाखौको क्षति भएको भएको थियो ।
यस घटनाले पनि नगरपालिकामा दमकलको आवश्यकता महसुस गरिएको र नगरपालिकामा दमकल ल्याउन आफुहरुले पहल गरिरहेको वडा अध्यक्ष कार्कीले बताए । रामेछाप नगरपालिकामा आफुहरुले दमकलको अवश्यकता महसुश गरेपनि हालसम्म नगरपालिकामा दमकल खरिद गर्ने सम्बन्धी केही योजना र निर्णय नभएको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले बताए ।
यता जिल्ला समन्वय समितिले पनि दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनिकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाउनुपर्ने बताएको छ  । सबै नगरपालिका तथा गाउँपालिकाहरूले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालिन सन्देश प्रवाह पद्दतीबारे नयाँ योजना ल्याउन आवश्यक रहेको जिल्ला समन्वय समितीका प्रमुख प्रेम बहादुर खड्काले बताए ।
रामेछापका स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको खड्काले बतउछन । ८ स्थानीय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा मात्र दमकल छ भने अझै रामेछाप नगरपालिका र ६ वटा गाउँपालिकामा दमकल नहुँदा समस्या भएको छ । जिल्लामा वर्षेनी आगलागीका धेरै घटनाहरू हुने गरेका छन् । लाखौँको सम्पत्ति समेत नष्ट हुनुका साथै मानवीय क्षति समेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्