खैरेनीघाट–बेथान–गाल्वा सडक कालोपत्रे हुने



१२ माघ, रामेछाप ।
रामेछापको तीन गाउँवटा गाउँपालिका जोडने सडक कालोपत्रे हुने भएको छ । खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाका जोडने मुख्य सडक कालोपत्रे हुने भएको हो । प्रदेश ३ को सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुंगा कटिङ र पर्खाल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।


सडक विभागले गत बर्ष खैरेनी, लुभ, बेथान, हिलेदेवी सक्षम चौतारो, गाल्वा हुँदै दोरम्बा गाउँपालिकाको खैरेखोलासम्म सडकको डिडेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरेको थियो । सोही डिपिआरको आधारमा प्रदेश ३ को सरकारले सडक निर्माणको लागि बजेट छुटयाएको हो । पर्यटकीय क्षेत्र सैलुङसम्म जोडने यस सडकले सुनापती र दोरम्बा गाउँपालिकावासीको लागि निकै ठूलो सुविधा हुनेछ ।


प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वधार विकास कार्यालय मन्थलीका जयराम श्रेष्ठले यस आर्थिक बर्षमा सडक निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार यस बर्ष १७ किलिमिटर सडकमा नाला निर्माण, माटो कटिङ, पर्खाल निर्माण लगायतको काम हुनेछ । उक्त सडक नाला सहित ८ मिटरको कायम हुने बताइएको छ ।
खैरेनीघाटदेखि गाल्वासम्म करिब ३० किलोमिटर सडक रहेको छ । सदरमुकाम मन्थलीबाट गाल्वासम्म कालोपत्रे गर्ने कार्य अगाडि बढेको छ । रामेछाप–सिन्धुलीस्थित सुनकोसीको खैरेनीघाटस्थित पक्की पुल निर्माण भइरहेको छ । यसै बर्ष पुल निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छ ।
बहुबर्षिय ठेक्का मार्फत सडक कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । प्रमुख श्रेष्ठले खैरेनीघाट बेथान हिलेदेवी गाल्वासम्मको सडक निर्माण गर्नको लागि एडिबीसँग पनि कुराकानी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्