मन्थलीको फाँटलाई हरियाली बनाउने योजना पुरा भएनः डा. भट्टराई
रामचन्द्र वि.क.
माघ २२, रामेछाप । नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा सदरमुकाम मन्थलीलाई एक व्यवस्थित शहर बनाउने गरी नक्सा तयार पारिएको भए पनि त्यसलाई कार्यान्वयन गराउने पक्षले ध्यान नदिँदा सुन्दर मन्थली नबनेको बताएका हुन् ।
मंगलबार मन्थलीमा नयाँ शक्ती पार्टीको असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले भट्टराईले सुन्दर मन्थली बनाउने स्केज दिदाँ दिदै पनि त्यसलाई बेवास्ता गर्दा अहिले कुरुप मन्थली भएको दुखेसो गरे पछि डा. भट्टराईले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले त्यतिबेला मन्थलीको माथिल्लो भागमा बनस्पती, बीचको भागमा बस्ती र मन्थली फाँटमा बोटबिरुवा लगाएर हरियाली बनाउने स्केच आफूले तयार परेको बताउदै भने,‘अहिले भद्रगोल तरिकाले शहर बसेकाले अझै पनि यसलाई व्यवस्थित पार्न सरोकारवालाले ध्यान दिनुपर्छ ।’
उनले एक अर्को प्रसंगमा अहिलेका ठुला राजनीतिक दल भन्नेहरु चुनाव जितेर सत्तामा पुग्ने र कमिसनखोरीहरुबाट कमिसन लिनेतर्फ लागेकाले उनीहरुबाट देश विकास नहुने बताए । उनले ठुला भनिने पार्टीहरु चुनाब, सत्ता र कमिसनको दुष्चक्रमा फसेको आरोप समेत लगाए । चिवाभञ्ज्याङ पाँचथर देखि झुलाघाट बैताडी सम्मको जनसम्बाद यात्रामा रहेको भट्टराई मंगलबार रामेछाप आइपुगेका हुन् ।