कुलमान घिसिङले जोगाए ७ अर्ब



२३ माघ, काठमाडौं ।

लोडसेडिङ हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत चुहावटबाट करिब ७ अर्ब जोगाएका छन् । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५।०७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको हो । गत आर्थिक वर्ष २०७४।०७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवमा १५.४५ मा झार्न सफल भएको हो ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण महशुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम गरेर सात अर्ब रकम जोगाउन सफल भएको बताए ।
घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । उनका अनुसार प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्