औषधी खरिद प्रक्रियामा अनियमितता भएको छैनः अध्यक्ष लामा
२४ माघ, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र कुनै पनि आर्थिक अनियमितता नभएको बताएका छन् । उनले गाउँपालिभित्र भएका सबै निर्णय नियम र कानुनको परिधिभित्र रहेर गरेको दावी गर्दै सबै निर्णय पारदर्शी भएको बताएका हुन् ।
गाउँपालिकाभित्र भएको सबै ठेक्कामा गाउँपालिकाले निर्माण गरेको कार्यविधि भन्दा दायाँबायाँ नगरेको बताउदै अध्यक्ष लामाले रामेछाप न्युजसँग भने,‘टेन्डर प्रक्रियामा जसले कम मुल्य कबोल गर्छ, उसैले पाउने नियम छ, औषधी खरिद प्रक्रियामा पनि पत्रिकामा सूचना प्रकाशित गरेर कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिएका हौं ।’
उनले गाउँपालिकाकाले निर्माण गरेको कार्यविधि अनुसार दस लाख भन्दा बढीको बजेट खुल्ला टेन्डरबाट गर्ने प्रावधान रहेको बताए । यस आर्थिक बर्षमा औषधी खरिदको लागि गाउँपालिकाकाले ३१ लाख रकम विनियोजन गरेको थियो । ठेक्का मार्फत १९ लाखमा औषधी खरिद गर्ने सम्झौता गाउँपालिकाले गरिसकेको छ ।
अध्यक्ष लामाले औषधी खरिद प्रक्रियामा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु कसैको पनि गलत नियत नभएको दावी गरे । औषधी खरिद गर्ने टेन्डर डालिमा मेडिसेल्स नामक कम्पनीले पाएको छ ।