हिउँदे झरीले रामेछापका किसानमा ल्यायो खुुसी
२८ माघ, रामेछाप ।
लामो समयदेखि आकाशे पानीको पर्खाइमा बसेका रामेछापका किसानलाई यस पटकको हिउदे बर्षाले निकै ठूलो राहत मिलेको छ । जिल्लाको उच्च पहाडी भू–भागमा हिमपात भएसँगै विषेश गरी रामेछापका सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत मिलेको हो । जिल्लाभित्र कृषि पेशामा लागेका किसानहरुलाई हिमपात सँगै परेको पानीले ठूलो राहात भएको मन्थली नगरपालिका वडा ४ सालुका जय बहादुर खत्री बताउछन ।
उनका अनुसार लामो सयमपछि परेको आकासे पानीले बारीमा लगाएको गहँु, तोरी, आलु तरकारी लगायतका हिउदे बालीलाई राहात पुगेको छ । खत्रीले भने, ‘पानी नपरेको भए बारीमा लगाएको सबै बालीनाली सुकेर जाने अवस्था थियो पानीले हामीलाई ठुलै राहात दिएको छ ।’
त्यस्तै रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीका जुनार किसान टिकाराम लामाले आकाशे पानीले जुनारलाई पनि राहात मिलेको बताए । आकाशे पानीले जुनारमा मल हाल्न र गोडमेल गर्न जुनार किसानलाई ठुलो राहत पुगेको उनको भनाई छ ।
त्यसैगरी उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सामुहिक रुपमा किवी खेती गरीरहेका मध्येका एक सदस्य हिरालाल श्रेष्ठले पानीले किबी खेतीमा लागेका किसानलाई ठूलो फाइदा पुगेको बताए । उनले भने, ‘हामीले करिब चार सय रोपनीमा व्यवसायिक किवी खेती गरी रहेका छौँ, यो समय किवीको विरुवा रोप्ने समय हो, यहकी समयमा आकाशे पानी पर्यो विरुवा रोप्नको लागि खाल्डो खन्न र विरुवा रोप्न निकै सजिलो भएको छ ।’
हिउदे बालीको आम्दानीबाटै आफ्नो परिवार चलाउने किसान देखि व्यवसायिक रुपमा खेती गर्ने किसानको मुहारमा यतिबेला एक हप्ते हिउदे झरीले खुसीयाली छाएको छ ।
जिल्लामा पछिल्लो समयमा किवी, अैलची, लौठ सल्लो, भुँई स्याउ, बोधीचित्त, रुद्रक्ष, आलु लगायतको व्यवसायिक खेती तर्फ किसानहरु आकर्षित हुँदै गएका छन् ।