रामेछापमा सम्बन्ध विच्छेद गर्ने पुरुषको सख्या बढ्यो



राजन महतारा क्षेत्री ।

५ फागुन, रामेछाप । नेपालको संविधान २०७४ ले पारित गरेको नयाँ कानुन अनुसार गत भदौ १ गतेबाट पुरुषले पनि सम्बन्ध विच्छेदको निवेदन सोझै अदालतमा दिन पाउने व्यवस्था लागू भएपछि रामेछाप जिल्ला अदालत रामेछापमा सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराउने पुरुषको सङख्या बढेको छ । नयाँ मुलुकी देवानी ऐन संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाएपछि सम्बन्ध विच्छेदका लागि मुद्दा दिने पुरुषको संख्या बढ्न थालेको हो ।

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ मा पतिले पनि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराउन सक्ने व्यवस्था छ । रामेछाप नगरपालिका–७ का प्रभुराम महतारा नयाँ कानुन आएपछि पुरुषलाई सहज भएको बताउछन । पुरुषले यसअघि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे, उनले भने,‘अहिले सजिलो भएको छ ।’

रामेछाप जिल्ला अदालत रामेछापको तथ्यांक अनुसार गत भदौ १ गतेदेखि हालसम्म १३ जना महिला र १९ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन । सम्बन्ध विच्छेद गर्न निवेदन दिने पुरुषको संख्या भदौ १ देखि बढेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्र रेग्मीेले बताए । उनका अनुसार नयाँ कानुन आएपछि सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या बढेको हो ।
नयाँ ऐन अनुसार सम्बन्ध बिच्छेदको मुद्दा परेका दम्पतिलाई सकेसम्म मेलमिलाप गराउने नभए निवेदन परेको १ बर्षभित्रमा दुबैको मञ्जुरीमा सम्बन्धबिच्छेद गराउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्