मृत्युपछि जीवन बीमाको रकम परिवारलाई प्रदान
राजन महतारा क्षेत्री
धेरैलाई बीमा किन गर्ने भन्ने लाग्न सक्छ । तर बीमा गरेको अवस्थामा ठूलो आपत विपतमा समेत ठूलो सहयोगी बन्ने गरेको छ । जीवनभरको लागि मात्र होइन मृत्युपछि पनि पैसा प्राप्त गर्ने माध्यम बनेको छ बीमा ।
ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड रामेछापले मन्थली नगरपालिका–६ सिम्फुलमा संस्थाका सदस्यका परिवारलाई बीमा रकम प्रदान गरेको छ । संस्थामा अबद्ध भएका सदस्य सीता कुमारी श्रेष्ठको गत मंसिर २७ गते मृत्यु भएपछि उनको घरमा पुगेर श्रेष्ठले लिएको ६० हजार रुपैयाँको ऋणमा गरिएको बीमा सम्झौता अनुसार बीमा रकम प्रदान गरिएको छ । मृतक श्रेष्ठको परिवारलाई क्रिरिया खर्च रकम ४० प्रतिशत थप गरी ८४ हजार रुपैयाँ हकवाला छोरी तुलसा श्रेष्ठलाई प्रदान गरिएको हो ।
ग्लोबल आईएमई लघुवित्त संस्था रामेछापका प्रमुख उत्तमबाबु श्रेष्ठ, संस्थाका कर्मचारी राजकुमार शाही, वडा नम्बर ६ का वडाअध्यक्ष गोपाल माझी लगातयले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् । बीमा रकम प्रदान गर्न पुगेकाहरुले मृतक श्रेष्ठको फोटोमा माल्यापण गरी समवेदना समेत व्यक्त गरेका छन ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष माझीले विभिन्न संस्थाहरुको सहयोगले नागरिकहरुको जीवनस्तरमा परिवर्तन आएको बताउँदै संस्थामा ऋृण लिने सदस्यको सुविधा र पारिवारिक आर्थिक समस्यालाई सहज बनाउन बीमा कार्यक्रमले सहयोग गरेको बताए ।