रामेछापका कृषक ‘प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान’बाट सम्मानित



२० फागुन, काठमाडौं ।
कृषि क्षेत्रमा नमूना काम गरेको भन्दै रामेछाप दोरम्बा गाउँपालिका–२ दाेरम्बा ढोईगाउँका कृषक श्याम कुमार थापा प्रधानसेनापति उत्कृष्ट कृषक सम्मानबाट सम्मानित भएका छन् । रामेछाप जिल्लामा थापाले सञ्चालन गरेको कृषि फर्मले उत्कृष्ट काम गरेको भन्दै थापालाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।


सेना दिवको अवसरमा सोमवार सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कृषक थापालाई नगद सहित प्रमाण प्रदान गरेर सम्मान गरेका हुन् ।
कृषक थापाले भिमेश्वर फलफुल तथा नर्ससी उद्योग स्थापना गरेर विगत दस बर्षदेखि सक्रियतापुर्वक कृषि पेशामा संलग्न छन् । थापाले दोरम्बा गाउँपालिकामा नमूनाको रुपमा कृषि फर्म सञ्चालन गरेपनि अन्य कृषक पनि कृषि पेशाबाट राम्रो आम्दानी गर्न सकिने विश्वासको साथ कृषि पेशामा लागेका छन् ।


परम्परागत रुपमा नभई आधुनिक ढंगले कृषि पेशा गर्दा राम्रो आम्दानी गर्न सकिने बताउदै उत्कृष्ट किसानको सम्मान पाएको थापाले रामेछाप न्युजसँग भने,‘काम पाएन भनेर भौतारिएर हिडनु पर्दैन, गाउँघरमा नै सुन फलाउन सकिन्छ, पसिनाको फल जतिको मिठो अरु के हुन्छ ।’
प्रधानसेनापति कृषक सम्मानले आफूलाई आगामी दिनमा झन राम्रो काम गरेर देखाउनु पर्ने चुनौती थपिएको थापाले बताए । नेपाली सेनाबाट अवकाश भए लगत्तै थापाले आफ्नै गाउँठाउँमा केही गरेर देखाउने अठोटको साथ फलफुल खेती सुरु गरेका थिए ।
उनले करिब ८० रोपनी जग्गामा किबी सहित ४० भन्दा बढी प्रजातिका फलफुल लगाउनु भएको छ भने नर्सरी पनि सञ्चालन गर्दै आएका छन् । दस जना भन्दालाई रोजगारी समेत दिन सफल भएका कृषक थापाले बार्षिक १० देखि १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताउछन । गत बर्ष सिन्धुलीमा भएको कृषक सम्मेलनमा उत्कृष्ट कृषकको सम्मान प्राप्त गरेका थापाले यस बर्ष प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान प्रदान गरेको निकै खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्