‘अब रामेछापमा खानेपानीको समस्या हुँदैन’
१ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा डीप बोरिङ गरेर पानी निकाल्ने (ड्रिल) प्रविधिबाट पानी तान्ने काम सफल भएपछि रामेछापवासीमा खुसी छाएको छ । ड्रिल प्रविधि मार्फत रामेछाप नगरपालिकाका विभिन्न ठाउँमा जमिनबाट पानी निकाल्ने काम सफतापूर्वक सम्पन्न भएको छ ।
रामेछापको सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको दक्षिण क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या रहेको छ ।
खानेपानीको समस्या समाधान गर्नको लागि सरकारले तामाकोसी, सुनकोसी नदी र खोलाबाट लिफ्ट खानेपानी आयोजनाको काम अगाडि बढाएको छ । लिफ्ट खानेपानी योजना निकै महंगो र समय पनि धेरै लाग्ने भएकाले बर्षौ अघि सुरु भएको लिफ्ट खानेपानी योजनाको काम सम्पन्न हुन सकेको छैन् ।
३ नम्बर प्रदेश सरकारले यस आर्थिक बर्ष रामेछापको भालुखोपमा ड्रिल प्रविधि मार्फत पानी तान्नको लागि ४० लाख रुपैयाँ छुटयाएको थियो । भालुखोपमा ड्रिल प्रविधि मार्फत खानेपानी निस्किएपछि प्रदेश सरकारले आगामी दिनमा ड्रिल प्रविधि मार्फत सुख्खा क्षेत्रमा खानेपानी पुर्याउने नीति लिएको छ ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ड्रिल प्रविधि सफल भएकाले आगामी दिनमा केन्द्र सरकार स्थानीय सरकार प्रदेश सरकारको बीचमा समन्वय गरेर खानेपानीको योजना अगाडि बढाउने बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछापको सुख्खाग्रस्त क्षेत्रमा पानी पुर्याउछौं, अब रामेछापमा खानेपानीको समस्या हुँदैन ।’
प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न काम गरिरहेको बताउदै उनले धारा कुवा रहेको क्षेत्र आसपासमा ड्रिल प्रविधि मार्फत पानी निकाल्ने कामलाई निरन्तरता दिने बताए । प्रदेश र संघीय सरकार मार्फत रामेछापको सुख्खाग्रस्त क्षेत्रमा करिब चार दर्जन भन्दा बढी लिफ्ट खानेपानी योजनाको काम सञ्चालनमा छन् ।