दोरम्बामा बन्यो ५ करोडको आधुनिक विद्यालय भवन, विद्यार्थी दंग



नारायण श्रेष्ठ

८ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बाको काकलिङ माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । नवनिर्मित विद्यालय भवनको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त बुढाथोकीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
एसियाली विकास बैंक एडिबीको पाँच करोड लागतमा काकलिङ माविको विद्यालय भवन निर्माण भएको हो । भुकम्पको कारण भत्किएको विद्यालय भवन तोकिएकै समयसीमाभित्र निर्माणको जिम्मेवारी पाएको खानी निर्माण सेवाले हस्ताक्षरण गरेको छ ।

विद्यालयको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शिक्षा क्षेत्रमा सुधारको लागि आफूहरु लागि परेको बताए । उनले शिक्षाको गुणस्तर उकास्नको लागि नीतिगत व्यवस्था गरेर नै अगाडि बढेको बताउदै आगामी दिनमा विगतको कमिकमजोरी सच्याएर अगाडि बढने बताए । ‘विगतमा गाउँपालिकाको निर्णय असफल बनउने कोसिश पनि भए, अहिले विद्यालयमा नयाँ प्रशासन आएको छ’,अध्यक्ष तामाङले भने,‘विद्यालयको विकासको लागि गाउँपालिका सहयोग र सहकार्य गरेर अगाडि बढछ ।’ शिक्षामा सुधार गर्नको लागि गाउँपालिकाले शैक्षिक क्यालेण्डर बनाएर नै अगाडि बढन लागेको उनले बताए ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त बेढाथोकीले नवनिर्मित विद्यालय भवनको भौतिक अवस्थालाई अहिलेकैजस्तै यथावत राख्नु पर्ने बताए । उनले भने,‘विद्यालय भवन निर्माण भएका छन, सञ्चालन गर्न सकिन्छ कि सकिदैन, अहिलेकै स्वरुपलाई कायम राख्न सकिन्छ कि सकिदैन यो गम्भीर विषय हो ।’ बुढाथोकीले विद्यालयको भौतिक संरचनालाई आगामी दिनमा पनि व्यवस्थित गरेर अगाडि बढन विद्यालयलाई आग्रह गरे ।


कार्यक्रममा दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले दोरम्बा गाउँपालिकाको जेठो विद्यालय भएकाले शिक्षा क्षेत्रको गुणस्तरमा पनि जेठो हुनु पर्नेमा जोड दिए । उनले भने,‘विद्यालय भवन राम्रो बनेको छ, अब शिक्षाको गुणस्तर पनि यसरी नै बृद्धि गरेर अगाडि बढनु पर्छ ।’
विद्यालय भवन निर्माण गर्ने जिम्मेवारी पाएका खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले निर्वाचनको क्रममा राजनीति गरेपनि विकास निर्माणको सबालमा एकताबद्ध भएर लाग्नु पर्ने बताए । उनले भने,‘सबै राजनीतिक दलहरु विकासमा एकजुट भएर लागे मात्र शिक्षा क्षेत्रमा सुधार गर्न सकिन्छ ।’


विद्यालयको डिजाइन र सुपरभिजन भने इआरएमसी कन्सल्टेन्टले गरेको हो ।
नवनिर्मित विद्यालयको दुई वटा भवनमा १२ वटा कोठा रहेका छ । विद्यालय अपाङमैत्री र बालमैत्री रहेको छ । विद्यालयमा हाल तीस सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ, गाउँपालिकाका प्रवक्ता समेत रहेका दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल, नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, नेकपा दोरम्बाका नेता हिरा श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्