तीन नम्बर प्रदेश सरकारको नयाँ योजनाः १६ प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क
१७ चैत्र, हेटौँडा ।
हेटौँडा अस्पतालबाट प्रदेश नम्बर ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्य परीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताए । कार्यक्रममा उनले १६ किसिमका स्वास्थ्य परीक्षण निःशुल्क हुने जानकारी दिँदै कार्यक्रम विस्तारै प्रदेश नं ३ को प्रत्येक जिल्लामा लैजाने बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले स्वस्थ रहनका लागि व्यक्तिले सरसफाइ र खानपिनमा विशेष जोड दिदै स्वास्थ्य जाँच नियमित गराउनु पर्ने बताए । आर्थिक अवस्था कमजोर भएर ठूलो रोग लाग्दा मात्र स्वास्थ्य संस्था पुग्ने अहिलेको मान्यता रहेको बताउदै उनले भने,‘असहाय र शहीद परिवारका लागि स्थानीय निकायको सिफारिसको आधारमा मात्र निःशुल्क जाँच गराइनेछ ।’
सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताए ।
कार्यक्रममा विपन्न, अल्पसङ्ख्यक, दलित, महिला, शहीद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वमा घाइतेका लागि निःशुल्क स्वास्थ्यपरीक्षण हुनेछ ।