सुनापती गाउँपालिकाको विकासमा तीन नम्बर प्रदेश सरकारको प्रतिबद्धता
१९ चैत्र, काठमाडौं ।
प्रदेश नम्बर तीनको सरकारले रामेछापको सुनापती गाउँपालिकाले तयार गरेको योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलालसँग भेट गरेर गाउँपालिलाई विकास गर्ने योजना पेश गरेका हुन् ।
सुनापती गाउँपालिकाले डिपिआर भएको पाँच वटा सडक र खानीखोलामा अत्यावश्यक रहेको पुल निर्माण गर्न र गाउँपालिकाभित्र १५ सैयाको अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउनु पर्ने योजना सम्बन्धित मन्त्रालयमा योजना पेश गरेका छन् ।
गाउँपालिकाले पेश गरेको योजनामा आवश्यक बजेट विनियोजन गर्न आफू लागि पर्ने आथिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । रामेछाप प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणको लागि अहोरात्र लागि परेको बताए ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाले तयार गरेको योजना कार्यान्वयन गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता मुख्यमन्त्री सहित मन्त्रीहरुले गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले डिपिआर गरेका योजना पेश गरेका छौ, १५ सैयाको अस्पताल निर्माण गरेर सञ्चालन गर्न पनि आग्रह गरेको छौं ।’
प्रदेश नम्बर ३ को सरकारसँग योजना पेस गर्न गाउँपालिकाका अध्यक्ष लामा, उपाध्यक्ष गिता विष्ट, गाउँपालिका वडा नम्बर १ गुन्सी का वडा अध्यक्ष चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष कमल केसी, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, वडा नम्बर ४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङ र वडा नम्बर ५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङको सहभागीता रहेको थियो ।