एक बर्षमा रामेछाप नगरपालिकाको राजश्व २३ लाख



२ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले चौथो नगर सभा सम्पन्न गरेको छ । रामेछाप भंगेरीको सामुदायिक आवास भवनमा आयोजित नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख नरबहादुर थापा मगरले सोचे अनुसार काम गर्न नसकिएको गुनासो गरेका हुन् । पर्याप्त र दक्ष जनशक्तिको अभावमा सोचे अनुसार काम गर्न सकिएन, उनले भने ।
कार्यक्रममा आय व्यय विवरण प्रस्तुत गर्दै नगर प्रमुख मगरले नगरकोे विकास बजेट १५ करोड ३२ लाख ७६ हजार मध्ये ३ करोड ८३ लाख २८ हजार २ सय ९३ अर्थात २५ प्रतिशत रकम खर्च भएको जानकारी दिए ।

नगरको चालु खर्च ६ करोड ९५ लाख मध्ये २ करोड ९२ लाख ५८ हजार ५ सय ९५ रुपैयाँ अर्थात ४२ प्रतिशत रकम खर्च भएको छ । पुँजीगत खर्च तर्फ १ करोड ५ लाख मध्ये ६६ लाख ५१ हजार ९ सय ८२ रुपयाँ अर्थात ६३ प्रतिशत खर्च भइसकेको नर प्रमुख मगरले सभामा जानकारी गराए । नगरपालिकाले एक वर्षेको अवधिमा आन्तरिक आयबाट २३ लाख रुपैयाँ राजश्व उठाउन सफल भएको छ ।
उनले नगरपालिकाले गुरु योजना बनाइसकेकोले अब विकासको कामले गति लिने बताए । नगर प्रमुख थापा मगरले नगरपालिकाको समृद्धिको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
नगरसभामा जिल्ला समन्वय समिति सदस्य पुर्ण महत, नेकपाका नेता रोशन पाख्रिन , नेपाली काँग्रेस रामेछाप नगरका अध्यक्ष कमल विक्रम कार्की, लगायत रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्