मध्यपूर्वी पहाडको विकासको केन्द्र बन्न सक्छ रामेछाप
विकास निर्माणको हिसाबले इतिहासमा धेरै ठगिएको जिल्ला भनेर चिनिने गरेको थियो रामेछाप । काठमाडौंबाट धेरै नजिक भएर पनि सडक संजालमा जोडिन नसकेको कारणले धेरै लामो समयसम्म अत्यन्त दुर्गम ठाउँको पहिचान बन्यो रामेछाप । दोलखातिरबाट सडक जोडिदै गएको भएता पनि झन्डै १० वर्ष अघि बिपी राजमार्गको निर्माण भएपछि भने रामेछापको सडक संजालको हिसाबले कायापलट नै भएको छ । रामेछापको ८ स्थनीय तहभित्र रहेका ६४ वटा वडाहरुमा नै सडक पुगेको छ । अधिकाशं ठाउँमा त टोल टोलमै सडक निर्माण भइसकेका छन् ।
सडक संजालबाट नजोडिदाको पीडाले होला सायद धेरै वर्षसम्म जिल्लाको विकासको मुख्य उद्देश्य नै सडक निर्माण बन्न पुग्यो । सडक संजाललाइ पक्की बनाउन त समय लाग्ला तर रामेछाप जिल्लाले एकसरो सडक निर्माणको काम भने धेरै हदसम्म सम्पन्न गरिसकेको छ । सडक बनेपछि धेरै समस्याहरु समाधान होलान भन्ने आशा थियो । तर सडक संजालले जिल्लामा आर्थिक उपार्जन गर्नमा खासै धेरै योगदान पुर्याएको अवस्थमा भने छैन ।
सडक संजालले जिल्लाभन्दा बाहिरबाट आएका सामानहरु उपभोग गर्ने चलनको व्यापक रुपमा वृद्धि गरेको छ । जसको कारणले गाउँगाउँमा उपभोगवादी संस्कृतिको विकास हुँदै गएको पाइन्छ र आर्थिक पराधिनता बढेको देखिन्छ । रामेछापलाइ आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्न अहिले विस्तार भएको सडक तथा अन्य पूर्वाधारलाई प्रयोगमा ल्याउनु आवश्यक छ र त्यसका लागि तत्कालै विस्तृत खालको जिल्ला आर्थिक समुन्नति अभियान चलाउनु आवश्यक छ । कुनै पनि आत्मनिर्भरतर्फ उन्मुख समृद्धिको अभियान संचालन गर्न तीन खालका कार्यक्रमहरु चलाउनु आवश्यक हुन्छ ।
१. दैनिक जिविकोपार्जनका साधनहरु आफ्नै गाउँ ठाउँमा उत्पादन गरेर बिशेष गरी खाद्यान्नमा आत्मनिर्भर भन्ने कार्यक्रमहरु ।
२. भौतिक संरचनाहरु जस्तैः सडक, बिजुली, खानेपानी, सिंचाई कुलाहरु, जसले आफैँमा आर्थिक उपार्जनका काम गर्दैनन् तर आर्थिक उत्पादनका कामको लागि अति आवश्यक हुन्छन् ।
३. आर्थिक उत्पादन हुने उद्योग व्यवसाय संचालन गरी जिल्लाभित्र वा बाहिर बिक्रि वितरण गरि आर्थिक उपार्जन गर्ने कामहरु ।
यी तीनै खालका कार्यक्रमहरु पहिचान गरेर व्यवस्थित ढंगले सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकारहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके रामेछाप जिल्ला मध्य पूर्वी पहाडको एउटा गतिलो आर्थिक गतिबिधिको केन्द्र बन्न सक्छ । काठमाडौँबाट नजिक, तराईतिर सहज पहुँच, धेरैतिरबाट सडक संजालमा जोडिएको अवस्था, तामाकोसी नदी, सुनकोसी नदी क्षेत्रका विविध सम्भावनाहरु रामेछाप जिल्लाका लागि ठूला अवसरहरु हुन् ।
पहिलो, खाद्यान्नमा परनिर्भरता नै रामेछाप जिल्लाको सबैभन्दा ठुलो समस्या हो । जिल्लाको तल्लो र पश्चिमी भेग सुख्खा ग्रस्त छ भने उत्तरी भेगमा काम गर्ने जनशक्तिको अभाबले गर्दा धेरै जग्गा बाँझो छ । अचेल दैनिक रुपमा झन्डै १०० वटादेखि १५० वटासम्म ट्रकहरु जिल्लामा प्रवेश गर्छन र तिनीहरु मध्य अधिकांशमा खाद्यान्न हुन्छ । जिल्लाबाट बाहिरिंदा ती मालबहाक ट्रकहरु रित्तै फर्किन्छन । जिल्लाले बाहिर बिक्रि गर्ने केही उत्पादन नै गर्न सकेको छैन । जिल्लामा कति खाद्यान्न उत्पादन हुन्छ र कति चाँही जिल्ला बाहिरबाट आउँछ भन्ने आँकडा पनि राखिएको छैन । हरेक स्थानीय तहमा आँकडा निकालेर कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ भने योजना बनाई जीविकोपार्जनमुखी खेती प्रणालीलाई सहज बनाउन सहयोग गर्ने विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।
खाद्यान्नमा आत्मनिर्भर नहुन्जेल समृद्धिका अन्य कामहरु गर्न सम्भब हुँदैन । यो नै पहिलो खुड्किलो हो । सबै समुदायहरुका परिवारहरुले कम्तिमा आफुले खाने अन्न आँफै उत्पादन गरी जीवन निर्वाहको आधार तय गरेपछि कृषिलाई व्यापारीकरण गर्नेतर्फ लाग्दा पनि हुन्छ, तर खाद्यान्नमा परनिर्भरता बढाउने खालको व्यापारीकरणले जिल्लामा सबैलाई समेट्ने र न्यायोचित खालको समृद्धिको वातावरण सिर्जना गर्न सकिदैन । यो कामका लागि धेरै अध्ययन अनुसन्धान हुन आवश्यक छ, तर खाद्यान्न उत्पादन जिल्लाको पहिलो प्राथमिकता हुनुपर्दछ ।
दोस्रो, भौतिक संरचना र पूर्वाधार निर्माण जिल्लाका लागि अति आवश्यक अभियान हो । यो धेरै खर्चिलो हुन्छ, त्यसैले जिल्लाका आर्थिक उपार्जनका कामहरुलाइ सहयोग पुग्ने गरी तत्कालिन र दीर्घकालीन सोचका आधारमा त्यस्ता पूर्वाधारहरु निर्माण गर्नुपर्छ । साना–साना टुक्रे बजेट छुट्याएर डोजरमार्फत गरिने पूर्वाधार विकासले विनाश धेरै गरेको छ । भौगोलिक र वातावरणको हिसाबले धेरै संवेदनशिल भएको कारणले हालको डोजरमा आधारित पूर्वाधार विकासका कामले जिल्लालाइ ठुलै नोक्सान पुर्याएको छ । बरु दीर्घकालिन आर्थिक उपार्जनका स्रोतहरु बढाउने उद्देश्य राखेर कम्तिमा यी तलका चार वटा योजनाहरु कुनै हिसाबले सुरु गर्न सके जिल्लाको पूर्वाधार विकासले एउटा गति लिन सक्ने देखिन्छ
१. तामाकोसी नदीलाइ आधार मानेर खिम्तीबेसीदेखि मन्थलीसम्म अथवा सेलेघाटसम्मै समेटेर नदी तटीय विशेष आर्थिक कोरिडोर विकास आयोजना सुरु गर्नु अत्यन्त आवश्यक छ । तामाकोसीका ठुला फाँटहरु रामेछाप जिल्लाका आर्थिक गतिबिधि गर्ने थलोका रुपमा विकास गर्न सकिन्छ । तामाकोसी नदीको विशेष संरक्षण गर्दै नदी तटीय पर्यटन, देश विदेशबाट आएर पढ्ने खालका प्राविधिक विश्व विद्यालयहरु खोल्ने ठाउँ, अस्पतालहरु निर्माण गर्ने ठाउँ, औधोगिक उत्पादन गर्ने ठाउँको रुपमा यो कोरिडोरलाइ विकास गर्नुपर्छ । काठमाडौँमा थेग्न नसकिने चाप बढेको, अरु ठाउँमा पानीको अभाब हुँदै गएको छ, चीनतिर खुल्ने लामाबगर नाका हुँदै भारत जाने मार्गको केन्द्र यही ठाउँ पर्छ, यसर्थ विभिन्न कारणले यो कोरिडोरमा लगानी भित्राउन सकिन्छ । प्रदेश सरकार र सम्बन्धित पालिकाहरुले योजना बनाइ कुनै न कुनै ढंगका कामहरु थालनी गर्नु उपयुक्त हुन्छ । पानी पर्यटनको अलावा यो कोरिडोरमा एउटा पोलीटेक्निकल इन्स्टिच्युट तत्कालै खोल्न सके त्यसले जिल्लामा ठुलो प्रभाव पार्ने थियो ।
२. निजगढ–खुर्कोट–मन्थली–धोबी–ढाडे बेँसी–दिम्बा डाँडा हुँदै जाने बाटोलाई सगरमाथा प्रवेशद्वार बनाउने हिसाबले तत्कालै योजना बनाइ कामको थालनी गर्नु अति आवश्यक छ । पूर्वी क्षेत्रको लागि यो मार्गको ठुलो महत्व छ । अहिले नै काठमाडौँबाट सगरमाथा प्रवेश गर्ने छोटो बाटो नै यही हो । दिम्बा डाँडासम्म सडक झन्डै झन्डै पुगिसकेको छ । अब बन्ने निजगड विमानस्थलका कारण भित्रिने पर्यटकहरु सजिलै सँग छोटो दुरीमा सगरमाथा पुग्ने बाटो नै यही हो । यो अभियानलाई व्यवस्थित बनाउन सके खुर्कोट, मन्थली, धोबी, ढाँडे बेसी लगायतका ठाउँलाइ पर्यटकीय व्यापार गर्ने ठाउँको रुपमा विकास गर्न सकिन्छ । यो मार्गले यी ठाउँहरुको आर्थिक गतिविधिलाइ कायापलट नै गर्छ ।
३. नुम्बुर हिमाललाई लक्षित गरेर मन्थली, धोबी, नोप्रा डाँडा, भित्तरी खानी, बाम्ती भण्डार हुँदै जाने पद मार्गको विकास गर्नु आवश्यक छ । ठाउँ ठाउँमा सडकले जोड्ने, धोबीदेखि नोप्रा डाँडासम्म केवलकार, गुम्बा, मन्दिर तथा साँस्कृतिक सम्पदाहरुको निर्माण, प्याराग्लाइडिंग तथा रक क्लाइम्बिङ्ग जस्ता साहसी खेलहरुको पूर्वाधार, होटल तथा कुटिर उद्योगहरुको व्यवस्थापन गर्ने खालको बृहत्तर योजना बनाउन आवश्यक छ । काठमाडौँ तथा तराईतिरबाट जम्मा २÷३ घण्टा मै मन्थली पुगिने र हिमालसम्मको यात्रा सजिलै गर्न सकिने पूर्वाधार बनाउन सकिने हुनाले आन्तरिक पर्यटनको निकै ठुलो सम्भावना बोकेको यो पद मार्गको विकास गर्नु अति आवश्यक छ ।
४. पश्चिम रामेछापको आर्थिक उन्नतिको ठुलो आधार सैलुङ्ग क्षेत्र हुन सक्छ । दोलखाका केही स्थानीय तहसँग मिलेर महोत्सब पनि गर्न लागिएको छ । केवलकार र सडक संरचनाको विकास गर्दै पर्यटन र उद्योगहरुको विकास गर्न सकिने महत्वपूर्ण ठाउँ भएकोले जिल्लाले सैलुङ्ग क्षेत्रको उचित संरक्षण गर्दै पूर्वाधार निर्माण गर्नु आवश्यक छ । दोलखाको कालिन्चोक क्षेत्रले जसरी आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ त्यसैगरी आकर्षण सैलुङ्ग क्षेत्रले पनि गर्छ ।
तेस्रो, जिल्लामा उद्यमशिलताको विकासलाई ठुलो महत्वका साथ अघि बढाउनु जरुरी छ ।
एक गाउँ एक उद्दम भन्ने जस्ता केहि कार्यक्रम लागू गरी सुरुवात गर्न सकिन्छ । विदेशिने युवालाइ जिल्लामै रोजगारी दिने अवसर सिर्जना नगर्ने हो भने जिल्लाको अवस्था भयाबह हुने देखिन्छ । हरेक वर्ष हरेक गाउँमा कम्तिमा दश वटा रोजगारी सिर्जना हुने खालका उद्यमहरु विकास गर्ने उद्देश्यका साथ काम गर्नुपर्छ । स्थानीयतहहरुले विशेष योजना बनाइ लागु गरेमा यो काम सम्भव हुन्छ । अहिले योजना तर्जुमा र बजेट तयारीको बेला छ । जिल्लाका योजनाहरु यी कुराहरुलाइ बढावा दिने खालका भए भने रामेछाप जिल्लाको लागि धेरै उपलब्धि मूलक हुन्छ । भविश्यको निर्माण आजैबाट थाल्नुपर्छ ।