रामेछापमा जागरण अभियानको कमाण्डर यादव
८ वैशाक, काठमाडौं ।
नेपाली कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गर्न लागेको जागरण अभियान अन्तर्गत रामेछापको कमाण्डरमा किरण यादवलाई खटाएको छ । कांग्रेसले सञ्चालन गर्ने जागरण अभियानका लागि जिल्ला–जिल्लामा कमाण्डर खटाएको हो ।
आगामी बैशाख ११ गतेदेखि कांग्रेसले कांग्रेसले जिल्ला जिल्लामा नेताहरू खटाउने निर्णय गरेको छ । जागरण अभियान अन्तर्गत पहिलो चरण बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरू प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।
बीपी जयन्तीको अवसर पारेर सुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरू बस्ने जनाइएको छ ।
जागरण अभियानले जिल्लाका उत्साह थपेको नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले बताए । उनले रामेछाप न्युजसँग भने,‘जागरण अभियानले कार्यकर्ताहरुमा नयाँ आशाको सञ्चार गराउने छ, हामीले जिल्ला तहमा पनि जागरणका कार्यक्रम सञ्चालन गर्दै आएका थियौं ।’
रामेछाप कांग्रेसभित्र गुट उपगुट मौलाउदै गएकोप्रति कार्यकर्ताहरु निरुत्साहित हुँदै आएका छन् । रामेछापमा सभापति शेर बहादुर देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षको गुट सक्रिय छ ।