पुष्पलालको जन्मभूमि भंगेरीलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउने घोषणा
१० वैशाक, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालको जन्मभूमि रामेछापको भंगेरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने घोषणा गरेको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अगाडि सारिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी तीन नम्बर प्रदेश कमिटीले पार्टी स्थापना दिवस पुष्पलालको जन्मस्थान रामेछापको भंगेरीमा मनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरी नजिकै रामेछाप बजारमा ७० औँ स्थापना दिवश मनाएको हो ।
कार्यक्रममा तीन नम्बर प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले रामेछापको भंगेरी ऐतिहासिक ठाउँ भएको र भंगेरीको विकासका लागि प्रदेश सरकारले विशेष योजना बनाइरहेको बताइन । उनले पुष्पलालले देखाएको बाटोमा वर्तमान सरकार अघि बढिरहेको र सुखी नेपाली समृद्ध नेपालको नारा सफल हुने दावी गरिन । शाक्यले सबै कम्युनिष्ट पार्टी एक भएर एकीकृत कम्युनिष्ट पार्टी बन्नु पर्नेमा जोड दिइन ।
कार्यक्रममा नेकपा तीन नम्बर प्रदेशका कमिटीका सह–इन्चार्ज हित बहादुर तामाङले एकता प्रक्रिया अगाडि बढेको बताउदै पार्टीलाई गतिशिल बनाएर लैजान सबै एकताबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा नेताहरु हरिबोल गजुरेल, वेदराम भुसाल, तीन नम्बर प्रदेशका अध्यक्ष,नारायण दाहाल, प्रदेशका सचिव आनन्द पोख्रेल, रामेछापका प्रतिनिसभाका सांसद श्यामकुमार श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल, लगायतका नेताहरुले भंगेरीलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउने पहल भइरहेको बताएका थिए ।
कार्यक्रममा प्रदेश ३ का १३ जिल्लाका प्रदेश कमिटीका सदस्य, सांसद र नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । नेताहरुले पर्यटकीय केन्द्र बनाउने घोषणा गरेपनि बर्षौदेखि भंगेरीमा पुष्पलालको शालिक अलपत्र परेर बसेको छ ।