रामेछाप नगरपालिकाकाे उदहरणीय कामः नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा



१४ वैशाक, रामेछाप ।
रामेछाप नगरपालिकाले नगरवासीलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउने मुख्य उदेश्य सहित निःशुल्क घुम्ती स्वास्थ्य शिविर सुरु सञ्चालन गरेको छ । नगरपालिकाले नियमित निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका–४ हिमगंगा बोलोङबोलोङबाट घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख नर बहादुर थापा मगरले बताए ।
उनका अनुसार नगरपालिकाको आयोजना,तामाकोशी सहकारी अस्पताल मन्थली,जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको सहयोगमा घुम्ती शिविर सञ्चालन भएको हो ।

विशेषगरी नगरपालिकाभित्रको गर्भवती महिला,वालवालिका,वृद्धवृद्धाहरुलाई लक्षित गरेर शिविर सञ्चालनमा ल्याएको नगर उपप्रमुख सृजना खड्काले जानकारी दिइन । उनका अनुसार शिविर रामेछाप नगपालिकाको ९ वटै वडाका विभिन्न टोलहरुमा निशुल्क रुपमा नियमित रुपमा सञ्चालन हुनेछ ।

हिमगंगा बोलोङबोलोङमा भएको शिविरबाट २४५ जनाले सेवा लिएका छन् ।शिविरमा भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा,आँखा सेवा,दन्त सेवा र मातृत्व सेवा प्रदान गरेको छ ।
सेवा लिनेहरुमा अधिकांश महिला,वृद्धवृद्धाहरु रहेको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक रामशरण पौडेलले बताए । घुम्ती शिविरमा विशेषज्ञ चिकित्सक सहितको टोलीले सेवा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्