अचानक सुनकोसी नदीको जलयात्रामा प्रचण्ड
४ वैशाक, सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार साँझ परिवारसँगै सिन्धुलीको सुनकोशी नदीमा जलयात्रा गरेका छन् । पहिलो पटक प्रचण्ड सिन्धुलीमा बास बस्ने गरी आएका प्रचण्ड परिवार सहित सुनकोसी नदीस्थित मुलकोटमा जलयात्रा गरेका हुन् । प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी छोरी गंगा र नातिनीसहित सुनकोशी नदीमा डुंगामा जलयात्रा गर्दै मूलकोट आइपुगेको थिए ।
सुनकोशी गाउपालिकाको दुम्जास्थित कुशेश्वर महादेव मन्दिर छेउबाट सुरु भएको जलयात्रामा सीता, गंगा र नेकपाका नेता हरिबोल गजुरेल लगायत सहभागी थिए । मुलकोटमा रहेको होटल ताज रिसोर्टले कुशेश्वर महादेव मन्दिर छेउबाट मुल्कोट सम्म जलयात्रा सेवा सञ्चालन गरेको छ । अध्यक्ष प्रचण्डलाई नेकपा सिन्धुलीका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल लगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मूल्कोट बजार पर्यटकीय क्षेत्रका साथै होटल हवको रूपमा विकास भएको छ । सरकारले एक सय गन्तव्यमा सुनकोसी नदीलाई समावेश गरेको छ । नेकपाका नेता हरिवोल गजुरेलले आराम गर्नको लागि प्रचण्ड परिवार सहित सुनकोसी जलयात्रामा आएको बताए ।