सुनापती गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिवल प्रतियोगीता हुँदै
४ जेठ, रामेछाप ।
सुनापती खेलकुद विकास समितिको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिका लागि खेलकुद÷ भन्ने मुल नाराको साथ प्रथम सुनापती गाउँपालिका अध्यक्ष कप–२०७६ पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । गाउँपालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित सुनापती गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिवल प्रतियोगीता हुन लागेको हो ।
राष्ट्र विकासको निर्माणमा मानव तथा बौद्धिक विकास गर्न युवाको भूमिका हुने भएकाले युवाहरुको क्षमता विकास गर्न अध्यक्ष कप भलिवल प्रतियोगीता आयोजना गरिएको सुनापती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
शारीरिक तथा वौद्धिक विकासका लागि श्रृजनशील कार्यक्रम मार्फत युवाहरुलाई विकृति र विसंगतिबाट निरुत्साहित गर्नु आजको आवश्यकता रहेको गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । स्थानीय स्रोत र साधनको परिचालन, व्यवस्थापन र स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न अपरिहार्य रहेको हुँदा स्वदेशमा नै जनशक्ति उत्पादन गरी स्वदेशमै परीचालन गरी आफ्ना कला शीप प्रदर्शन गर्न खेलकुद प्रतियोगीता आयोजना गरिएको हो ।
खेलकुद कार्यक्रम विस्तार गर्दै युवाहरुलाई एकीकृत रुपले श्रृजनशीलताको बाटोमा ल्याइ सामाजिक आर्थिक तथा शैक्षिक विकासमा आधारित एकिकृत खेलकुद विकास कार्यक्रम सहयोग पुग्ने विश्वास लिइएको छ ।