माछामा रामेछापलाई आत्मनिर्भर बनाउने व्यवसायीको अठोट



राजन महतारा क्षेत्री
१४ जेठ, रामेछाप । देशभित्र रोजगारी पाएन भन्दै विदेश जानेको संख्या बढ्दो छ । तर देशभित्र पनि आफूसँग भएको जोश र जाँगरले काम गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने उदाहरण रामेछाप नगरपालिकाका युवाहरुले देखाएका छन् ।
रामेछाप नगरपालिका–३ साँघ्ुटार माछा पकेट क्षेत्र बनाउने अभियान समेत सुरु भएको छ । नगरपालिका वडा नम्बर ३ साँघुटारका वडा अध्यक्ष सहित ५ जना युवाहरु मिलेर साँघुटारमा माछा पालन व्यवसाय सुरु गरेका हुन । जुन व्यवसाय जिल्लाका युवाहरुको लागि उदाहरण समेत बनेको छ ।

वडा अध्यक्ष भुपाल श्रेष्ठ सहित साँघुटारका स्थानीय युवाहरु मदन भौकाजि, हिरालाल उदास , नवराज ढकाल, यत्न ढकाल, राजन ढकाल, लगायतको युवाहरु मिलेर ३० लाखको लागतमा माछा पालन व्यवसाय सुरु गरेका छन ।
५ जना युवाहरुको सामुहिक लगानीमा सुरु गरिएको माछा पालन व्यवसाय ८ रोपनी क्षेत्रफको जग्ग्गामा फैलिएको छ । २ वटा ९६ मिटर लम्बाई र २८ मिटरको चौडाई भएको पोखरी निर्माण गरी अहिले २८ हजार माछाका भुराहरु हालिएको वडा अध्यक्ष भुपाल श्रेष्ठले बताए ।

रामेछाप साँघुटारमा लिखु खोलाको माछा खान विदाको समयमा धेरै जना मानिसहरु सदरमुकाम मन्थली लगायतका अन्य ठाउँहरुबाट साँघुटार बजार जाने गरेका छन । रामेछाप जिल्लाको पुरानो बजार समेत रहेको साँघुटारमा माछा पालनका लागी अत्यन्त राम्रो सम्भावना भएकाले नै आफुहरुले यो व्यवसायको सुरुवात गरेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

माछा पालन व्यवसायलाई बढाउन प्रदेश सरकारसँग पनि सहयोग मागिएको बताउदै उनले अबको केही वर्षमा रामेछाप जिल्लालाई नै धान्न सक्ने माछा साँघुटारमै उत्पादन हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्