अब निजामती कर्मचारीलाई सातामा दुई दिन विदाको प्रस्ताव
२२ जेठ, काठमाडौं ।
निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरिएको छ । कांग्रेसका सांसद गगन थापाले संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न प्रस्ताव गरेका हुन् ।
संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन् । अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन् ।
थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्रा्ष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन् ।
हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा छ । सांसदहरूले समितिमा सरकारका सचिव र मुख्यसचिव नै करारमा राख्नुपर्ने लबिङ गर्दै आएका छन् ।