रामेछापमा घ्याप्चेको त्रासः पानी पर्दा निदाउन सक्दैनन गैराथोकवासी



राजन महतारा क्षेत्री
२५ जेठ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ । लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरो खस्ने क्रम नरोकिएपछि गाउँमा रहेका २ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन ।

वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो जाने क्रम नरोकिएपछि गैराथोकका धेरै नागरीकहरुले गाउँबाट विस्थापित भइसकेका छन् । जुनसुकै समयमा पनि पहिरो झरिरहने गैराथोक गाउँको धैरै खेत, बारी र जंगल पहिरोले कटान गरिसकेको छ ।

हिँउद र बर्खा दुवै याममा गईरहने पहिरोले स्थानीय नागरिकहरु त्रसित बनेका छन । पहिरो झझिरहेको बेला सुनिने गडाङडुङ आवाजले गैराथोकका नागरिकहरुको सातो लिने गरेको छ ।
गैराथोकका स्थानीय राजेश थापा मगरले धेरै पानी परेको बेला आकाशमा हेरेर भगवानको नाम जप्नु शिवाय आफुहरुसँग अर्को विकल्प नरहेको बताउछन् । हुने खानेहरु गाउँ छाडेर गए हामी यही गाउँमा बसेका छौ, कति बेला मर्ने हो पत्तौ नै छैन, उनले भने ।


ठूलो पानी पर्दा र पहिरो झर्दा गैराथोकका नागरिकहरुको रुवावासी हुने गरेको छ । गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बस्ने गरेको थापा बताए । पहिरो नियन्त्रण गर्न स्थानीय तहले केही गरेन भन्ने प्रश्नमा मन्थली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरेन्द्र कुमार बज्रचार्य घ्याप्चेको पहिरो नियन्त्रण गर्न धेरै कामहरु पनि प्रभावकारी हुन नसकेको बताउछन । उनले भने,‘पहिरोको फेदमा ढुंगा भरेर जाली राखियो तर सबै पहिरोले बगाएर लगिदियो ।’

पहिरो नियन्त्रण गर्न प्रदेश सरकार लगायत विभिन्न संघसंस्थालाई प्रतिवेदन पेश गरिएको भएपनि यस विषयमा कसैले ध्यान नदिएको वडा अध्यक्षले गुनासो गरे । पहिरोले वर्षै पच्छिे खेत, बारी र मानिसहरुको घर गोठ बगाउने गरेपनि पहिरो नियन्त्रण गर्न नसक्दा आफुहरुलाई सारै दु्ख लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्