देशभरका स्थानीय तहसम्म सडकः रामेछापका छ वटै गाउँपालिकाको केन्द्रसम्म अब कालोपत्रे सडक !
२ असार, काठमाडौं ।
देशभर रहेका गाउँपालिकाको केन्द्रसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न ५ अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र हुन सकेको छैन् । सातै वटा प्रदेश अन्तर्गत रहेको स्थानीय तहसम्मको सडक कालोपत्र गर्ने विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए ।
योजनाअन्तर्गत देशभरमा गरेर चार हजार २०० किलोमिटर सडक कालोपत्र हुनेछ । योजना सम्पन्न गर्न झण्डै दुई खर्ब लाग्ने अनुमान गरिएको छ ।
सरकारले अगाडि सारेको योजना अनुसार रामेछापको ६ वटा गाउँपालिकाको केन्द्रसम्मका सडक पनि कालोपत्रे हुने भएको छ । खाँडादेवी गाउँपालिकाको केन्द्रसम्म जोडने सडकको कालोपत्रे प्रक्रिया अगाडि बढिसकेको छ । प्रदेश ३ सरकारले कालोपत्रे गर्नको लागि ठेक्का मार्फत काम अगाडि बढाइसकेको छ ।
दोरम्बा गाउँपालिकाको टोकरपुर, सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवी, लिखु तामाकोसी गाउँपालिकाको धोवी, उमाकुण्ड गाउँपालिकाको प्रिती, गोकुलगंगा गाउँपालिकाको रस्नालुसम्म जोडन सडक अब कालोपत्रे हुने भएका छन् । रामेछापको सदरमुकामसम्म रहेको मन्थली र रामेछाप नगरपालिकामा भने यस अघि नै सडक कालोपत्रे भइसकेको छ । जिल्लामा झण्डै १४ सय किलोमिटर भन्दा बढी सडक निर्माण भएका छन् ।