दोरम्बा गाउँपालिकाका ४६ कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश
७ असार, काठमाडौं ।
नेपाली कांग्रेस पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै रामेछापको दोरम्बा गाउँपालिकाका ४६ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । पार्टी नेतृत्वमा फस्टाएको गुटबन्दी वडा तहसम्म मौलाएको र पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै उनीहरुले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको बताएका छन् ।
शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्धय श्याम कुमार श्रेष्ठ, कमल चौलागाई, नेकपा रामेछापका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेलले कांग्रेसका कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गरेका हुन् ।
पूर्व माओवादी केन्द्रका रामेछाप–काठमाडौं संघीय सम्पर्क मञ्चका अध्यक्ष इकलसिंह तामाङले ४६ जना नेपाली कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको जानकारी दिए । उनका अनुसार
दोरम्बा गाउँपालिका–४ गौश्वाराका वीरेन्द्र घिसिङ, धनलाल मोक्तान, राम कुमार घिसिङ, मिलन तामाङ, शेर बहादुर तामाङ, नोर्वु योञ्जन लगायतका कार्यकर्ता रहेका छन् ।
केही साता अघि दोरम्बा गाउँपालिकाको गौश्वरा र टोकरपुरका पचास भन्दा बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।