भ्रष्टचार भएको पुष्टि भए राजिनामा दिन्छुः अध्यक्ष सुनुवार
२५ साउन, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि खालको अनियमितता नगरेको बताएका छन् । उनले जनताको पक्षमा रातदिन काम गरिरहेको बताउदै यदी कसैले भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू राजिनामा दिन तयार रहेको बताएका हुन् ।
अध्यक्ष सुनुवारले रामेछाप न्युजसँग भने,‘मैले गाउँपालिकालाई समृद्ध बनाउने योजना साथ अगाडि बढेको छु, विकास निर्माणको कामले गति लिएको छ, केही तत्व नियोजित रुपमा मेरो विरुद्धमा गतल प्रचार गर्ने काममा लागेको छ ।’
कुनै पनि खालको अनियमितता, भ्रष्टाचार र कमिसन लिएको कोही कसैले प्रमाणित गरे राजिनामा गर्न तयार रहेको बताउदै उनले विना प्रमाण आफ्नो चरित्र हत्या नगर्न पनि चेतावनी दिए । आफूमाथि सामाजिक सञ्जाल मार्फत बदनाम गर्ने कोशिस भइरहेको बताउदै नागरिकहरुलाई तथ्यहिन समाजनको भ्रममा नपर्ने पनि आग्रह गरे ।
‘मैले जीवनको उर्जावान समय जनताकै सेवाको लागि खर्चिए, अहिले पनि गाउँपालिकाको अध्यक्षको हैसियतमा गाउँपालिकालाई समृद्ध बनाउने योजना र सपना लिएर अगाडि बढेको छु’, उनले भने,‘मेरो विरुद्ध फैलाइएको भ्रममा पर्न आवश्यक छैन, विरोधी शक्तिहरु आफ्नो वर्चश्व गुम्ने त्रासले मेरो विरुद्धमा लागेका छन् ।’ उनले गोकुलगंगा गाउँपालिकावासीको भावनामाथि कुनै पनि चोट पुग्ने काम आफूबाट नहुने बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइएको बताए ।