दोरम्बामा शहीद भएका परिवारको व्यवस्थापन सरकारले गर्ने



१ भदौ, रामेछाप ।
दोरम्बा हत्याकाण्डमा परी शहीद भएका परिवारहरुको व्यवस्थापन सरकारले गर्ने भएको छ । १६ बर्ष अघि दोरम्बा हत्याकाण्डमा परी तत्कालिन माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनालाई शाही नेपाली सेनाले हत्या गरेको थियो । शहीद परिवारले राज्यले वेवास्था गरेको गुनासो बढेपछि सत्तारुढ दल नेकपाले शहीद परिवारको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिवार दोरम्बाको डाँडाकटेरीमा आयोजित १६ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा शहीद परिवारका सदस्यहरुले राज्यले आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेका थिए । शहीद परिवारसँग अन्र्तक्रिया कार्यक्रम गर्दै नेकपा नेताहरुले तीन वटै तहको सरकारसँग समन्वय गरेर व्यवस्थापनको कार्यमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।

नेकपा ३ नम्बर प्रदेशका सचिव आनन्द पोखरेलले शहीद परिवारहरुको व्यवस्थापन गर्न आफूहरु गम्भीर रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘स्थायी सरकारलाई योजना बनाएर ल्याउन निर्देशन दिएका छौ, प्रदेश सरकार केन्द्र सरकारसँग समन्वय गरेर शिक्षा र रोजगारीको व्यवस्थापन गछौं ।’
नेकपा दोरम्बाका प्रस्तावित अध्यक्ष हिरा श्रेष्ठले शहीद परिवारको व्यवस्थापनमा आफूहरु गम्भीर रहेको बताए । उनले भने,‘शहीद परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि योजना बनाएर नै प्रदेश र केन्द्र सरकारसँग व्यवस्थापनको लागि पहल गछौं ।’


सहयोग गर्ने मन्त्री ढुंगेलको प्रतिबद्धता
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शहीद परिवारको व्यवस्थापन गर्न आफूहरु गम्भीर रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘शहीद परिवारको व्यवस्थापन गर्ने ठोस योजना ल्याएको अवस्थामा प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्