रामेछापकाे मन्थली नगरपालिकामा अख्तियारको आँखा



१६ भदौ, रामेछाप ।
रामेछाप नगरपालिकाभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाएको छ । विकास निर्माणको काममा अनियमितता भएको भन्दै मन्थली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत भएको सडक निर्माणको कामको फाइल अख्तियारले लगेको हो । मन्थली नगरपालिका–५ सुनारपानीमा भएको विकास निर्माणको काममा पुरानो योजनाको भुक्तानी दिन वडा अध्यक्ष रामबहादुर कार्कीले दबाब दिएको घटनाको विषयलाई लिएर नगरपालिकाभित्र विवाद भएको थियो ।


जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद उत्कर्षमा पुगेपछि नगरपालिकाको बैठकमा नै हात हालाहालको हुने परिस्थिति सृजना भएको थियो । मन्थली नगरपालिकाका एक कर्मचारीका अनुसार अख्तियारले दुई वटा वडाको फाइल मागे बमोजिम फाइल नै पठाइदिएको बताए । उनका अनुसार विकास निर्माणको काममा भए गरेको काममा छानबिन गर्न अख्तियारले पत्राचार गरेको थियो ।
नगरपालिकाभित्र जनप्रतिनिधिबीच नै विकास निर्माणको कामलाई लिएर विवाद हुँदै आएको छ भने प्रमुख प्रशासकीय अधिकृत ६/६ महिनामा परिवर्तन हुँदै आएका छन् ।

जिल्लाको पहिलो नगरपालिका भएपनि स्थानीय सरकार गठन भएपछि पनि नगरपालिकाभित्र भने आन्तरिक विवादको कारण अपेक्षाकृत विकास निर्माणको कामले गति लिन सकेको छैन् । मन्थली नगरपालिकाभित्र दुई तिहाई बहुमत प्राप्त नेकपा नेतृत्वका जनप्रतिनिधिहरु रहेका छन् । एक साता अघि अख्तियारले फाइल मगाएको बताउदै ती कर्मचारीले रामछाप न्युजसँग भने,‘दुई वटा वडा बाहेक अन्य वडाको भने फाइल मगाएको छैन् ।’ अख्तियारले हाल अध्ययन गरिरहेको फाइलमा विकास निर्माणमा अनियमितता भएको पुष्टि भएको अवस्थामा थप कारवाही प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्