मन्थली ट्याक्टर दुर्घटनाः लुटियो रोक्का परिवारको खुसी



राजन महतारा क्षेत्री
१७ भदौ, रामेछाप । घरमा तीजको रमझम चल्दै थियो । एक्कासी खबर आयो,मन्थलीको बान्द्रेमा ट्याक्टर दुर्घटना भयो । ट्याक्टर दुर्घटनाको खबर सुन्ने वित्तिकै धु्रव रोक्काको घरपरिवारले पनि सोधीखोजी गर्न थाल्यो । एक क्षणमा नै छिमेकी र बजारमा खबर आयो धु्रव रोक्काले चलाउने ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भयो ।

परिवारमा छाउदै गरेको खुसी एक क्षणमै लुटियो । घरपरिवारमा रुवावासी सुरु भो । परिवारसँगै छिमेकीमा सन्टना छायो । धु्रव रोक्काले स्वदेशभित्र भनेजस्तो रोजगारी नपाएपछि परिवार पाल्ने चिन्ताले केही बर्ष अघि वैदेशिक रोजगारीमा गएका थिए ।

तर परिवारको मायाले तानेपछि केही बर्ष वैदेशिक रोजगारीमा बसेर अन्ततः परिवारसँगै बस्ने र स्वेदशमै केही गर्ने अठोट लिएर देश फर्किएका थिए ।
मृतकका छिमेकी पुष्पकर भट्टराई भन्छन–विदेशको दुःख सुनाउदै देशभित्र नै केही गर्ने अठोट लिएर फर्किरर रोक्काले टयाक्टर किनेका थिए तर अब नआउने गरी विदा भए । हातमा सीप भएकै कारणले उनी आफैले ट्याक्टर किनेर आफै चलाउदै आएका थिए ।

उनले ट्याक्टर चलाउन सुरु गरेको तीन बर्ष भएको छिमेकी भट्टराईले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार मृतक रोक्काको १५ र १२ बर्षका दुई वटी छोरीहरु छन् । ट्याक्टर दुर्घटनामा परी रोक्काको मृत्यु भएपछि उनको श्रीमतीले साहरा गुमाएकी छिन भने दुई वटी छोरीले अभिभावक गुमाएका छन् । छिमेकी भट्टराईका अनुसार रोक्काको आज नै अन्तिम दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्