नेकपा सुनापती गाउँपालिकाको अध्यक्षमा योञ्जन सचिवमा लामा
१९ भदौ, रामेछाप ।
नेकपा रामेछापले सुनापती गाउँ कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि सुनापती गाउँपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । पार्टीले यस अघि सिफारिस गरेको नामलाई बदर गर्दै साबिकै गाउँ कमिटीका संयोजक र इन्चार्जलाई नै अध्यक्ष र सचिवको जिम्मेवारी दिएको हो छ ।
सुनापती गाउँपालिकामा पूर्व माओवादी केन्द्रका तत्कालिन संयोजक ज्ञान कुमार योञ्जन अध्यक्ष भएका छन भने पूर्व एमालेका तत्कालिन सुनापती गाउँपालिकाका इन्चार्ज रामकृष्ण लामा सचिव भएका छन् । पार्टीले जिल्ला तहदेखि गाउँ कमिटीसम्म नै साविकै नेतृत्वमा रहेकाहरुलाई जिम्मेवारी दिने नीति अनुसार सुनापती गाउँपालिकामा पनि सोही प्रावधान अनुसार जिल्ला कमिटीले दुई जनाको नाम टुंगो लगाएको हो ।
जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटीका अध्यक्ष र सचिव सहितको बैठकले नाममा सहमति जुटाएको हो । योञ्जन र लामा २०४९ सालको गाविसको निर्वाचनमा तत्कालिन दिमीपोखरी र खनियापानीको गाविस अध्यक्ष भएका थिए ।
प्रस्ताविक सुनापती गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार योञ्जनले पार्टीले दिएको जिम्मेवारी दृढतापूर्व पूरा गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘नाम टुंगो लागेको छ, घोषणा हुन बाँकी छ, औपचारिक जिम्मेवारी पाएपछि गाउँपालिकाभित्रको सबै वटादेखि टोलटोलसम्म जागरण अभियानको कार्यक्रम लिएर जान्छौ ।’