ज्वरो आए तत्काल स्वास्थ्य परीक्षण गर्न सुनापती गाउँपालिकाको आग्रह
२६ भदौ, रामेछाप ।
देशभर डेंगुको महामारी फैलिएसँगै रामेछापको सुनापती गाउँपालिकाले ज्वरो आउनासाथ स्वास्थ्य परीक्षण गर्न नागरिकहरुलाई आग्रह गरेको छ । ज्वरो आएको अवस्थामा तत्काल नै नजिकैको स्वास्थ्य कार्यालयमा गएर स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले आग्रह गरेको हो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले डेंगु रोगको बारेमा सचेत रहनु पर्ने बताउदै घर वरिपरी सफा राख्न पनि आग्रह गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘अहिलेसम्म सुनापती गाउँपालिकाको डेंगुको बिरामी भेटिएका छैनन, यदी भएको अवस्थामा तत्काल उपचारको व्यवस्था गाउँपालिकाले मिलाउछ ।’
डेंगु रोगको रोकथामको लागि गाउँपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा रहेको बताउदै उनले गाउँपालिकाभित्रको सबै स्वास्थ्यकर्मी परिचालन गर्ने गरी तयारी गरिएको बताए ।