घर बहालमा बस्नेसँग मनलाग्दी विद्युत महशुल नलिन कुलमान घिसिङको चेतावनी



२९ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मनलाग्दी विद्युत शुल्क नलिन आग्रह गरेका छन् । उनले घर बहालमा बस्नेसँग घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको गुनासो आएको बताए यस्तो मनलाग्दी काम नगर्न आग्रह गरेका हुन् ।

प्राधिकरणद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्न चेतावनी दिए । घिसिङले भने,‘ प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’


प्राधिकरणले २० युनिटसम्मको विद्युतमा ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० र प्रतियुनिट सातका दरले लिने गरेको छ । यस आधारमा १२० महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट १२ र त्यसभन्दा माथि सेवा शुल्क १७५ र प्रतियुनिट १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्