अब रामेछापको सबै नाकामा सिसी क्यामेराः सित्खा नाकामा सिसी क्यामेरा जडान
२० असोज, रामेछाप ।
जिल्लाभित्र अपराधिक घटना हुन नदिनको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाभित्रको सबै नाकामा सिसी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाएको छ । जिल्लाको मन्थली नगरपालिकाभित्र मात्रै रहेको सिसी क्यामेरालाई जिल्लासँग सीमाना जोडिएको मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गरिने भएको हो ।
सिन्धुली, सोलुखुम्बु, दोलखा, काभ्रे, ओखलढुंगासँग सीमाना जोडिएका नाकाहरुमा स्थानीय तहको सहकार्यमा सिसी क्यामेरा जडान गर्ने योजना अगाडि प्रहरीले सारेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले भन्नुभयो,‘धेरै ठाउँमा प्रहरी कार्यालयको माग छ,भएको स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्रविधिको पनि प्रयोगमा हामीले जोड दिएका छौं ।’ जिल्लालाई सुरक्षित बनाउनको लागि मुख्य नाकाहरुमा सिसी क्यामेरा प्रभावकारी हुने विश्वास लिएका छौं, उहाँले भन्नुभयो । सुनापती गाउँपालिको गुन्सी र लुभुघाट, दोरम्बा गाउँपालिकाको सैलुङ, लखनपुर, रामेछाप नगरपालिकाको साँघुटार, लिखु तामाकोसी गाउँपालिकाको ढाँडे शिरेसे, उमाकुण्ड गाउँपालिकाको सोलुखुम्बु जिल्लसँग सीमाना जोडिएको मुख्य नाकामा सिसी क्यामेरा जडान हुने भएको छ ।
खाँडादेवी गाउँपालिकाको सित्खामा सिसी क्यामेरा
खाँडादेवी गाउँपालिकाभित्र लिफ्ट खानेपानीको लागि जडान गरिएको ट्रान्सफरम धमाधम चोरी हुने क्रम बढेपछि खाँडादेवी गाउँपालिकाले सित्खामा सिसी क्यामेरा जडान गरेको छ । गाउँपालिकाको लगानीमा सित्खामा तीन वटा आधुनिक प्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । जडान गरिएको तीन वटा सिसी क्यामेराको निगरानी सत्खा प्रहरी चौकीले गरेको छ । गाउँपालिकाको १ लाख ३० हजारमा सिसी क्यामेरा जडान गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रामेछाप न्युजलाई बताउनुभयो ।