यस्तो छ चिनियाँ राष्ट्रपति सीको आज हुने भेटघाटकाे कार्यतालिका
२६ असोज, काठमाडौं ।
नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज पनि भेटवार्तालाई दिनुहुने भएको छ ।शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएका सीले आज नेकपा नेताहरूसँग सामुहिक रुपमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हुने भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ । तर नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच २० मिनेटको लागि वान टु वान वार्ता हुने कार्यक्रम रहेको नेकपाका एक सचिवालय सदस्यले बताउनुभयो ।
सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने कार्यतालिका रहेको छ । द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।