एक महिनाभित्र भीरपानीको सबै क्षेत्रमा बिजुली बल्छः कुलमान घिसिङ
१७ मंसिर, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र भिरपानी वडाको सबै क्षेत्रमा बिजुली बल्ने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र सिंगो रामेछाप जिल्लाभित्र विद्युतीकरणको काम सम्पन्न हुने बताउदै विद्युतीकरणको काम तीब्र गतिमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्करकुमार कार्की र वडा सदस्य भिम श्रेष्ठले कार्यकारी निर्देशक घिसिङलाई भेटेरै टान्सफर्मर तत्काल उपलब्ध गराइदिन माग गर्नुभएको छ । जवाफमा घिसिङले विद्युतीकरणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीलाई तत्काल ट्रान्सफर्मर उपलब्ध गराउन निर्देशन दिएको वडा अध्यक्ष कार्कीले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
भिरपानी वडामा करिब ११ सय घरधुरी मध्ये पाँच सय भन्दा बढी घरधुरीमा विद्युतीकरणको काम सम्पन्न भइसकेको छ भने बाँकी घरहरुमा विद्युतीकरणको काम भइरहेको उहाँले बताउनुभयो ।
वडा सदस्य भिम श्रेष्ठले विद्युतीकरणको लागि पोल गाडने काम सम्पन्न भएको बताउदै तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार अब विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रको लागि करिब चार वटा ट्रान्सफर्मर आवश्यक रहेको छ । वडा अध्यक्ष कार्कीले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार विद्युतीकरणको कामलाई उच्च प्राथमिकता दिएर काम अगाडि बढाएको बताउनुभयो । विश्व बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले अहिले जिल्लाभित्र विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रमा धमाधम काम गरिरहेको छ ।